वामदेव गौतम एमालेमा फर्कने,  अध्यक्ष ओलीसँग दुई चरण छलफल

वामदेव गौतम एमालेमा फर्कने,  अध्यक्ष ओलीसँग दुई चरण छलफल

1259

काठमाडौं । एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् ।
लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र सङ्गठन परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी प्रवेश गरे लगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका थिए ।
लामो समयदेखि नेकपा एसमा प्रवेश गर्ने बिषयमा छलफलमा रहेका गौतम  अन्ततः एमाले प्रवेश गर्न लागेका हुन्। नेकपा एसको भद्रगोल अवस्था देखेर उनी अन्ततः आफ्नै मातृ पार्टी एमालेमा फर्कन लागेका हुन् ।

गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानका नेता  नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज बिहान ओलीसँग फोन सम्बाद गरेको उनले बताए ।
‘अब हामी नअल्मलिने भयौँ, एमालेमै जाने भयौँ’, कार्कीले भने । पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए । उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए । एमालेमा जाने भएपछि उनीहरूले अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।
एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शङ्काको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण संवाद समाप्त भएको कार्कीले बताए । ‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौँ, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौँ’, उनले भने ।

 

तपाईको बिचार