ओखलढुङ्गाको मोलुङमा निशुल्क वृहत स्वास्थ्य शिविर हुँदै 

ओखलढुङ्गाको मोलुङमा निशुल्क वृहत स्वास्थ्य शिविर हुँदै 

1087

काठमाण्डौं ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा निशुल्क वृहत स्वास्थ्य शिविर हुँदै छ । मोलुङ गाउँपालिकाको आयोजना तथा विपन्नका लागि स्वास्थ्य नेपालको सहकार्यमा मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौं ,त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंको प्राविधिक सहयोगमा विशेषज्ञ सहितको डाक्टरहरूद्वारा शिविर हुने भएको छ ।

स्वास्थ्य शिविर यही माघ ११ र १२ गते मोलुङको बरुणेश्वर मावि रामपुर ओखलढुङ्गाको प्राङ्गणमा  हुने भएको हो ।  शिविरमा वरिष्ठ डाक्टर तथा प्राविधिक टोली सहित ३५ जना स्वास्थ्य कर्मीहरूको सहभागिता रहने  विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष समाजसेवी रत्नबहादुर थापाले बताए ।

शिविरमा मुटुरोग, बालरोग, स्त्रीरोग,जनरल मेडिसिन र नाककान घाँटीको विशेष सेवा सहित अन्य इसीजी तथा इको, भिडीयो एक्सरे, व्लडप्रेसर तथा सुगर जाँच सहित स्वास्थ्य परामर्श दिइने बताईएको छ ।

शिविरमा आउने विपन्न, अपाङता भएका र असहाय व्यक्तिहरू सहित मुटुका बिरामीहरूलाई निशुल्क या सहुलियतमा अन्यत्र थप उपचार आवश्यक भएमा पहल समेत गरीने छ ।

शिविरमा आवश्यक पर्ने आर्थिक सहित सम्पूर्ण प्राविधिक सहयोग मोलुङ गाउँपालिकाले गर्ने पालिकाका अध्यक्ष उत्तम राईले बताए । उनका अनुसार गाउँघरमा देखिएका स्वास्थ्य समस्याहरुलाई उजागर गरी खास गरी गरीव तथा विपन्न परिवारलाई राहत पुगोस् र रोगको पहिचान गरी उपचारमा थप सहयोग होस भन्ने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको पालिकाका अध्यक्ष राईले बताए ।

शिविरमा करिव २ हजार बढीको स्वास्थ्य परिक्षण गरिने अनुमान गरिएको छ । मोलुङ सहित छिमेकी पालिका र नगरपालिकाबाट समेत स्वास्थ्य सेवा लिन आउने उक्त शिविरमा आवश्यक पर्ने सम्पूर्ण औषधि उपकरण र प्राविधिक सहयोग विपन्नका लागि स्वास्थ्य नेपालले गर्ने अध्यक्ष थापाले बताए ।

विपन्नका लागि स्वास्थ्य नेपालले यस अघि पनि विभिन्न जिल्लाहरूमा स्वास्थ्य शिविर गर्ने गरेको र रेफर गरिएका बिरामीहरूलाई पहुँचयोग्य स्वास्थ्य संस्थामा पुर्‍याई थप उपचारको प्रवन्ध मिलाउने जस्ता सामाजिक कार्य गर्दै आएको छ ।

तपाईको बिचार