भिख मागेर बाँचेको व्यवस्था अब फाल्नुपर्छ- विप्लव

भिख मागेर बाँचेको व्यवस्था अब फाल्नुपर्छ- विप्लव

569

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरु बीचको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे । अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने उनको भनाई थियो ।

महासचिव विप्लव सीले विदेशीसँग भिख मागेर बाँचेको व्यवस्था फाल्नुपर्ने र यो व्यवस्थाको अन्त्य गरेरै छोड्ने उद्घोष गरे। सत्तामा रहेका राजनीतिक दलहरुले नेपाललाई गरिब भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भाषण गर्दै भिख माग्ने गरेको बताउँदै त्यसको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । ‘नेपाल गरिब छ भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरममा भाषण गर्ने, युवालाई विदेश लखेट्ने र विदेशीका सामु नेपालीलाई केहीपनि नभएका नागरिक भनेर चिनाउने गरिएको छ ।’, विप्लवले भने, ‘त्यस्तो केही होइन । नेपालीसँग आफ्नै घर छ, आफ्नै सानो भएपनि खेत र बारी छ । अरु युरोपियन, अमेरिकल, पूर्वी एसियाका मान्छेसँग यत्ति पनि छैन ।’

उनले नेपालमा गर्न सके सबैसँग भिख माग्न नपर्ने ठोकुवा गरे । यो व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्दै भिख माग्ने प्रथाको अन्त्य गर्नुपर्ने बताए ।

आजको संकटग्रस्त व्यवस्था फाल्न जरुरी रहेको बताउँदै विप्लवले यसका लागि क्रान्तिकारीहरु एक हुनुपर्ने बताए । ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादी मात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’

महासचिव विप्लवले कुनैपनि स्वार्थको अगाडि नेपाली जनताको सपना बेचिन नहुने बताए । उनले अहिले केही हदसम्म जनताको चाहना धर्ममराएको जस्तो देखिएको बताए । उनले जनताको चाहना धर्ममराउन आफूहरुले नदिने बताए । उनले जनताको लागि आफूहरु गोरुजस्तो भएर जोतिन तयार रहेको पनि बताए ।

महासचिव विप्लवको सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रवक्ता प्रकाण्ड सीले संचालन गरेका थिए । प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिको विद्रोहलाई कसैले रोक्न नसक्ने बताउँदै देश र जनताले नेकपाको नेतृत्व खोजिरहेको ठोकुवा गरे । प्रकाण्डले एकीकृत जनाक्रान्तिमार्फत नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष समेत गरे ।

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको विद्रोही समूहलाई विप्लवले टिका र माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीलागायत केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटी सदस्यसहित सयौँ नेता कार्यकर्ता नेकपामा ध्रुविकृत भएका छन् ।

तपाईको बिचार