विजय पौडयाल
बिहानीको सूर्य उदयसँगै मङ्सिरको मसान्तको त्यो चिसो समयमा मनमा अनेक थरिका उत्साह उमङ्ग र भावनाहरु प्रकट गर्दै आज हजारौं मान्छेहरु जहाँ भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभए स्थान बोधिवृक्षको मुनि जम्मा भएका थिए।
सयौँ लामाहरूको भिडभाड बोधिवृक्षको अगाडि राखिएको दुई ठूला सिंहासनहरू हर्दै भावना र करुणामा मग्न भएका हजारौं दर्शनायात्रीहरुको मनमा कसैको व्यग्र प्रतिक्षा थियो, आँखा उतैतिर लोलाएका थिए। दुई चार दिनको निन्द्रालाई व्यवास्था गर्दै नेपाल ,लदाख ,सिक्किम ,दार्जिलिङ र भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट आएका मानिसहरू अनिदो निन्द्रासँगै उक्त बोधि वृक्षको फेदमुनि घण्टौँ कुरिरहेका थिए। मानौ त्यहाँ साक्षात तथागत बुद्ध आउँदै हुनुहुन्छ ।
बुद्धको आगमन जस्तै लागेको थियो मलाई। हजारौं मानिसहरूको प्रतिक्षा र व्यग्र चाहनाहरु देखेर मेरो पनि ध्यान त्यहाँतिर खिचिएको थियो।
केही समयपछि महाबोधि मन्दिरभन्दा बाहिर एउटा साइरनकाे आवाज सुनिन्छ। अनि ती सबै मानिसहरूका आँखाहरू महाबोधि मन्दिरको द्वारतर्फ केन्द्रीकृत हुन पुग्छ । महामबोधी मन्दिरको द्वार भित्र रातो कपडा लगाएका लामाहरूको आगमन सुरु हुन्छ।
लामाहरूको आगमन सँगसँगै नयाँ ढङ्गको प्रतिध्वनी रापताप अनुभूति हुन्छ र मानौँ साक्षात् बुद्ध आफूतिर आइरहनुभएको छ ।
ति लामाहरूका बीचमा एउटा बेग्लै शालिनभद्र र महामुद्रामा बिलिन हुनुभएको जस्तै शान्त एवं करुणाले भरिएका महागुरु १७ औं ग्यलबा कर्मपा को दर्शन हुन पुग्छ । तथागत भगवान बुद्ध परिनिर्माण हुनुभएको हजारौं वर्षपछि हामी जुन बुद्धको परिकल्पना गर्छौ आज हामी माझ हुनुहुन्न तर पनि उहाँका प्रतिनिधिका रुपमा हामीले हाम्रा महान गुरुहरु लाई स्वयं बुद्धका रुपमा हामीले विश्वास गर्दछौं । आज तिनै तथागत बुद्धका प्रतिनिधि बनेर हामी माझ आउनुभएका सत्रौँ कर्मपाको दर्शन गर्दा साक्षात बुद्धको दर्शन गरेझै अनुभूति हुने रहेछ। बोधिवृक्षको दायाँ सिंहासनमा कर्मपा विराजमान हुनुभयो भने बायाँ भागको सिंहासन खाली रहेको थियो। उक्त सिंहासन लामो अवधिदेखि खाली रहेको छ , किनकि सिंहासनका हकदार गुरु स्यामार्पा अवतारीको प्रतिक्षा गरिरहेको थियो।
कर्मपा र श्यामर्पा
बज्रयाना परम्परा बुद्ध धर्मको एक अभिन्न अङ्ग हो। यो बज्रयाना परम्परा खासगरी बुद्धत्व प्राप्त गर्नका निम्ति कोरिएका विभिन्न मार्गहरूमध्ये अत्यन्तै सरल मार्ग हो। महायाना अन्तर्गत रहेको यो बज्रयाना परम्परा यसलाई मन्त्र परम्परा या तन्त्र परम्परा पनि भन्ने गरिन्छ। जहाँ विभिन्न बोधिसत्वहरूको चर्चा परिचर्चा र शक्तिको बारेमा अभ्यास निजी जीवनमा गरिन्छ र जीवनका सम्पूर्ण वर्षहरू बुद्धत्व खोजीका निम्ति व्यतीत गरिन्छ । यो परम्परा खासगरी भोट तिब्बतमा बढी मात्रामा मानिन्छ भने भुटान ,नेपाल र भारतका विभिन्न स्थानहरूमा यो परम्परा हजारौँ वर्षदेखि चलि रहेको आएको छ।
त्यस्तै बज्रयाना परम्परा अन्तर्गत विभिन्न उपशाखाहरू छन्। ती उपशाखाहरूमध्ये काग्युपा परम्परा सबैभन्दा फरक किसिमको परम्परा हो। जसले बज्रयाना परम्परामा नयाँ ढङ्गको विकास गर्यो र लिपिबद्ध गर्दै संसारमा परिचित भयो। यो काग्युपा परम्परा भारतमा विजारोपण भएर नेपालमा विकसित हुँदै भोट तर्फको यात्रा गरेको हो । आज पनि नेपालका विभिन्न स्थानहरूमा महासिद्धहरूले सिद्धि प्राप्त गरेका लिखित वा किम्मदन्तीहरू प्रचलित रहेका छन् । खासगरी काठमाडौँ उपत्यकामा रहेका विभिन्न तीर्थ स्थलहरू जस्तै पशुपतिनाथ क्षेत्र स्वयम्भू क्षेत्र फर्पिङ क्षेत्र र साँखु बज्रयोगिनी क्षेत्र , देवघाट देवीघाट लगायत यी विभिन्न स्थानहरुमा तिनै महासिद्धहरुले यो परम्पराको विकास गर्नुभएको थियो। बज्रधारा, तिलोपा – नरोपा – मार्पा (जसले पहिलोपटक संस्कृतलाई भोट लिपिमा अनुवाद गरेका थिए) उनका चेला महायोगी मिलेरेपा उनका चेला गोन्पोपा (जसले विभिन्न मठहरू निर्माण गरी यो बज्रयाना परम्परालाई व्यवस्थित गर्दै भाेट भिक्षु परम्पराको सुरुवात गरेका थिए )
हो उनै गोन्पापाका चेला थिए, दुसुम खेम्पा (जसलाई प्रथम कर्मापा भनी चिनिन्छ)
कर्मपा जो कालो मुकुट लगाउँछन् उनका मुकुटमा तन्त्रशक्तिको ठूलो साधनाको बास छ। जसको हृदय कोमल छ दया र करुणाले कुटकुट भरिएको देखिन्छ । लामो समयको साधनापछि आफ्ना शिष्यहरूलाई पुनः जन्म वा अवतारीको जसलाई टुल्कु भनिन्छ। त्यो परम्पराको सुरुवात गर्ने प्रथम गुरु भनेकै दुसुम खेम्पा प्रथम कर्मपा हुन् । प्रथम कर्मपा भन्दा अघि त्यहाँ कुनै प्रकारको अवतारी परम्परा थिएन। आज बज्रयाना हिमाल बौद्ध धर्ममा जुन अवतारी परम्परा देखिन्छ। यो परम्परा उनै दुसुम खेम्पा प्रथम कर्मपाले सुरुवात गरेका हुन्।
त्यसको सुरुवात गर्ने प्रथम कर्मपा अहिलेका १७औ ग्यालबा कर्मपा ठिनले थाय दोर्जे निरन्तर छन् , जुन निरन्तरता हजारौं वर्षदेखि चलि आएको छ ।
यो परम्परा यति मजबुत छ किन भने प्रथम कर्मपाले भनेका थिए मेरो तेस्रो अवतारीपछि रातो मुकुटधारी एक अर्को कर्मपाको जन्म हुनेछ। जसलाई श्यामरपा भन्ने परिचय मिल्नेछ। श्यामरपा जो कर्मपाका गुरु / चेला दुवै हुनेछन् । श्यामर्पाहरू कर्मापा पहिचान गर्नका निम्ति आधिकारिक हुन्छन् र कर्मपाहरू श्यामरपा पहिचान गर्नुपर्ने प्रचलन रहिआएको छ। पुनर्जन्म परम्परा राताे मुकुट धारी प्रथम श्यमारपा ‘तोग्देन् ड्रक्पा सिङ्गे’ हुन् र निरन्तर १४औं मिफाम छ्योकी वाङ्चुक श्यमर्पा हुन जसले १७औँ औतारी कर्मापा ठीन्ले थाय दोर्जेलाई कर्मापा परम्परालाई निरन्तरता दिँन १७औं कर्मपाको पहिचान गर्नुभएको । १४औं श्यमारपाको परिनिर्माण २०७१ मा जर्मनीमा भएको थियो र उहाँको पर्थिप् शरीर नेपाल ल्याउन नेपाल सरकार मन्त्रपरिषद्ले निर्णय गरेको थियो । कर्मापाहरूलाई केवल बौद्धिक गुरु मात्र होइन, करुणाको जिवन्त अभिव्यक्ति मानिन्छ।
यी दुई पात्र, कर्मापा र श्यामर्पा, कग्यूपा परम्पराका धरोहर मात्र होइनन्; बज्रयाना बौद्ध धर्मको समग्र चेतनाका आधारस्तम्भ हुन्। उनीहरूको जीवन, योगदान र आपसी सम्बन्धले संसारलाई करुणा , प्रेम र मानवताका लागि समर्पणको मार्ग देखाएको छ।
कर्मापा र श्यामर्पाको सम्बन्ध
कर्मापा र श्यामर्पाको सम्बन्धलाई गुरु-शिष्यको सम्बन्धको उत्कृष्ट उदाहरण मान्न सकिन्छ। कर्मापा ज्ञान र ध्यानका रचनाकार हुन भने श्यामर्पा त्यसलाई आम पाठक तथा शिष्यहरूमाझ सम्म पुर्याउने माध्यम हुन । यी दुईबीचको आपसी आदर र समर्पणले बज्रयानी बौद्ध धर्मको सम्पूर्ण संरचनालाई सुदृढ बनाएको छ।
यी दुवै बीचका सम्बन्धहरूमा कहिलेकाहीँ चुनौतीहरू पनि आएका छन्। केही ऐतिहासिक र राजनीतिक विवादहरूले कर्मापा र श्यामर्पाको भूमिका र स्थानलाई अस्पष्ट बनाउन खोज्ने दुष्प्रयासहरू पनि हुने गरेको इतिहास पाइन्छ। तथापि पनि यी सबै चुनौतीहरू पार गर्दै, उनीहरूको शिक्षाले बौद्ध धर्मलाई अझै बलियो बनाएको छ।
मोलाम पूजा अर्थात् प्राणीधान: बोधगयाको प्रार्थनाको महासागर
हाम्रो कथा बोधगयामा फर्कन्छ, जहाँ महाबोधि वृक्षमुनि हरेक वर्ष मोलाम पूजा आयोजित हुन्छ। “मोलाम” भन्नाले प्रार्थना भन्ने अर्थ दिन्छ तर यो प्रार्थना साधारण प्रार्थना भने होइन । यो सम्पूर्ण सृष्टिका लागि शान्ति, करुणा र समृद्धिको प्रार्थना हो।
७ औँ कर्मापा छोद्राक ग्यात्सेले १५औँ शताब्दीमा मोलाम पूजाको थालनी गर्नुभएको थियो। यसको मूल उद्देश्य बौद्ध धर्मका अनुयायीहरूलाई एकतामा बाँध्ने र सम्पूर्ण मानवताका लागि शुभकामना व्यक्त गर्ने सुरुवात गरेको मानिन्छ। भरत बोधगयामा भने विक्रम सम्मत २०५८/ ५९ को आसपासमा १४औं श्यमरपा को नेतृत्वमा पूजा आयोजना सुरु गरिएको हो।
पूजाको विशेषता
– मन्त्रपाठ र ध्यान : हजारौँ लामा , भिक्षुहरूको स्वरले वातावरणलाई पवित्र बनाउँछ।
– दानको महत्त्व : सर्वोजन हितायच भन्ने कुराको आत्मसात गर्दै गरिब र दुःखीहरूलाई सहयोग स्वरूप दान प्रदान गरिन्छ।
– नियमित बास खाना र खाजाको प्रबन्ध : माेलम पूजाका लागि आएका हजारौं तीर्थस्थ्रीहरूलाई मोलम अवधिभर निःशुल्क बिहान बेलुका खाना तथा दिउसाे खाजाको प्रबन्ध पनि गरिएको हुन्छ। बस्नको लागि बाँसको व्यवस्थासम्म मिलाइएको देखिन्छ।
– माेलम पूजामा सहभागी भएका सम्पूर्ण लामा भिक्षुहरूलाई दानस्वरूप हरेक दिन दक्षिणा प्रदान हुने गर्दछ।
– कर्मपा बाट प्रदान हुने अत्यन्त दुर्लभ वाङ अर्थात् अभिषेक प्राप्त गर्ने सुवर्ण अवसर मिल्नेछ ।
– १७औं रेन्पोचे कर्मपा थिन्ले थाई दोर्जे सित तीर्थयात्रीहरूको दर्शन भेट हुने सुवर्ण अवसर मोलामको विशेष महत्व छ।
बोधगयाको मोलाममा एक साधकको अनुभव :
एक साधक, जसले जीवनभरि दुःख र तनाव मात्र झेलेका थिए, पहिलो पटक मोलाम पूजामा सहभागी भए। पूजाको माहोल र निरन्तर भइरहने प्रार्थनाले उनलाई गहिरो भावुक बनायो। “यो केवल प्रार्थना होइन, यो आत्माको संगीत हो,” उनले भने।
कर्मापाको उपदेश सुनेपछि उनले आफ्नो हृदयमा एउटा गहिरो परिवर्तन महसुस गरे। “मैले बुझें, शान्ति बाहिरको कुनै चीज होइन , यो त हाम्रो भित्रै लुकेको एक उज्यालो हो।”
कर्मापा र श्यामर्पाको शिक्षा र मोलाम पूजाको सन्देश
कर्मापा र श्यामर्पाले आफ्नो शिक्षामार्फत संसारलाई एक मात्र सन्देश दिएका छन्—करुणा र प्रेमले मात्र संसारलाई बदल्न सक्छ। मोलाम पूजा यी शिक्षाहरूको जीवन्त अभिव्यक्ति हो।
बोधगया मात्र एउटा पवित्र स्थान मात्रैमा सिमित नभएर यो त कर्मापा र श्यामर्पाका शिक्षाको मञ्च हो, जहाँ विश्वभरिका मानिसहरू शान्ति र करुणाको मार्गदर्शन खोज्न आइपुग्छन्।
यो कथा र इतिहास मात्र होइन यो जीवन जिउने कला हो। कर्मापा र श्यामर्पाको जीवन, शिक्षाहरू र मोलाम पूजाको महत्त्वले मानवताको लागि एउटा शाश्वत प्रेरणा दिन्छ। बोधगयामा हरेक वर्ष ध्वनित हुने मोलाम पूजाको प्रार्थनाले संसारभर शान्तिको तरंग फैलाइरहन्छ।
तपाईको बिचार