“आफु विरुद्ध आफैं” अभियानको तेस्रो श्रृङ्खला सम्पन्न

“आफु विरुद्ध आफैं” अभियानको तेस्रो श्रृङ्खला सम्पन्न

737

काठमाडौ । “आफु विरुद्ध आफैं” अभियानको तेस्रो श्रृङ्खला कथाकार नवराज रिजालको अब उप्रान्त कथा सङ्ग्रहमाथि समीक्षा गर्दै काठमाडौंमा सम्पन्न भएको छ । कथाकार रिजालको कथाकारिता, विषयवस्तु चयन र लेखनशिल्पको बारेमा कवि तथा समालोचक आरएम डंगोलले प्रकाश पानुभएको थियो । कृतिमाथि प्रकाश पार्दै डंगोलले पात्र चयन र विषयवस्तुका आधारमा रिजालका कथाले छुट्टै पहिचान बनाएको चर्चा गर्नुभएको थियो ।

कथामा के भन्ने प्रश्नमा विषयवस्तुको महत्वपूण भुमिका हुन्छ । पात्रले कसको बारेमा भन्ने र कथाशिल्प वा कथन पद्धतीले कसरी भन्ने भन्ने बारेमा जानकारी दिने समीक्षक डंगोलले बताउनु भयो । कथा जति कल्पनाशील भएर अघि बढ्छ त्यति नै नवीनतम थपिने समेत डंगोलले बताउनु भयो । यसमा भाव पक्षले समस्याको उजागर गर्ने र विचारले निष्कर्ष दिने उहाँको भनाइ थियो ।

कथाकार रिजालले पनि आफ्नो कथा लेखनको धरातल भनेको नेपाली माटो र यसको जर्गेना कसरी गर्ने भन्ने रहेको बताउनु भयो । “मैले तीस वर्षको लेखन यात्रामा जे सिके, देखे त्यो समाजभित्र बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा कुनै परिवर्तन नभएको हुनाले फेरि यो व्याथा भोग्नु नपरोस् भन्ने हेतुले यस सङ्ग्रहको नाम नै अब उप्रान्त राखेको” बताउनु भयो ।

कार्यक्रममा कवि तथा समीक्षक छविरमण सिलवाल, होम शंकर बास्तोला र बोधराज पौडेलसमेतले कथाकार र कथासङ्ग्रहका बारे आफ्नो धारणा राख्नु भएको थियो । कार्यकमको संचालन अभियानका सचिव होम शंकर बास्तोलाले गर्नुभएको थियो । आजको कार्यक्रममा यो अभियानका सदस्य प्रतिरोध कार्की र दीपक श्रेष्ठ भने अनुपस्थित रहनु भएको थियो ।

रिजाल कथाकार मात्र नभइ लघुकथा, कविता र बाल साहित्यका क्षेत्रमा समेत कलम चलाउने स्रष्टा हुनुहुन्छ । उहाँका दुई दर्जन भन्दा बढी कृति प्रकाशित रहेका छन् ।
आगामी कार्यक्रम कवि छविरमण सिलवालको भर्खरै प्रकाशित कविता कृति डोरम्याटको बारेमा हुने समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर