चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

587

काठमाडौं । इलिमिनेरट राउन्डमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

कर्णाली फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्नेछन् । बुधबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै  १५४ रन मात्रै बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले ५३, कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेनकेन्स्टाइले १६ रन बनाए । कर्णालीका लागि जिसन मक्सुदले तीन, कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई तथा विपिनप्रसाद शर्माले एक विकेट लिए ।

पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले हसन इसाखिललाई व्यक्तिगत एक रनमा गुल्सनकुमार झाबाट क्याच गराए ।

तेस्रो ओभरको चौथो बलमा विपिन रावल १८ रन बनाएर पेभेलियन फिर्किए । १० बलमा चार चौका प्रहार गरेका उनलाई सोमपालले गुल्सनबाटै क्याच गराए ।

छैटौं ओभरमा पाँचौं बलमा लुक बेनकेन्स्टाइन १६ रन बनाएर जिसन मक्सुदबाट बोल्ड भए । उनले १३ बलमा समान एक चौका र छक्का प्रहार गरे ।

कुशल मल्ल ११औं ओभरको पाँचौं बलमा विपिनप्रसाद शर्माबाट बोल्ड भए । २१ बलको सामना गरेका उनले एक छक्काको मद्दतले २१ रन बनाए ।

मक्सुदले १६औं ओभरको दोस्रो बलमा आठ रन बनाएर खेलिरहेका सन्तोष कार्कीलाई गुल्सनबाट क्याच गराए । सोही ओभरको पाँचौं बलमा सोहेल तन्वीर चार रन बनाएर देव खनालबाट क्याच भए ।

अमरसिंह रौटेला १८औं ओभरको दोस्रो बलमा ९ रन बनाएर पेभेलियन फर्किए । उनलाई नन्दन यादवले बोल्ड गरे । सोही ओभरको पाँचौं बलमा ५३ रन बनाएका रवि बोपारा आउट भए । ३४ बलमा चार छक्का र तीन चौकाको प्रहार गरेका उनी गुल्सनबाट क्याच भए ।

अन्तिम ओभरको चौथो बलमा रिजन ढकाल रन आउट भए । उनले सात रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि जयकिसन कोल्सावालाले ५३, विल बसिस्टोले ५२, चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए ।

तेस्रो विकेटका लागि कोल्सावाला र बसिस्टोले ५९ रनको साझेदारी गरे ।

चितवनका लागि सोहेल तन्वीरले दुई तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान एक विकेट लिए ।

दोस्रो ओभरको पहिलो बलमा सोहेल तन्वीरले ऋत गौतमलाई रनको खाता पनि खोल्न नदिइ विकेटकिपर विपिन रावलबाट क्याच गराए ।

पाँचौं ओभरको अन्तिम बलमा जिसन मक्सुद पेभेलियन फिर्किए । १२ बलमा सामन एक चौका र छक्कासहित १४ रन बनाएका उनलाई शरद भेषावकरले रन्जित कुमारबाट क्याच गराए ।

रवि बोपाराले १३औं ओभरको चौथो बलमा ५३ रन बनाएका जयकिसन कोल्साबलाई पेभेलियनको बाटो देखाए । ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका उनी शरदबाट क्याच भए ।

कुशल मल्लले १४औं ओभरको चौथो बलमा गुल्सनकुमार झालाई खाता पनि खोल्न नदिइ बोल्ड गरे ।

विल बसिस्टो १९ औं ओभरको दोस्रो बलमा पेभेलियन फर्किए । ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२ रन बनाएका उनलाई तन्वीरले बोल्ड गरे । अन्तिम ओभरको चौथो बलमा देव खनाल रन आउट भए । उनले तीन रन मात्रै बनाउन सके ।

तपाईको बिचार