सीता ओझाको "महिला,यौनिकता,हिंसा र सम्बन्ध"

सीता ओझाको “महिला,यौनिकता,हिंसा र सम्बन्ध”

525
गोपीरमण उपाध्याय 
सीता ओझासँग अनौपचारिक रुपमा अनेकौं पटक भेटभए पनि औपचारीक कार्यक्रममा आयोजकको हैसियतबाट वि स २०८१ मार्ग बीस गते लैनचौरस्तित पेसागत महासंघको कार्यलयमा आयोजित कार्यक्रम ” लैङ्गिक हिंसा विरुद्धको सोह्रदिने विश्व अभियान” को कार्यक्रममा भेट्ने अवसर मिल्यो ।
त्यो कार्यक्रममा सीता ओझाद्वारा लिखित  ” महिला,यौनिकता,हिंसा र,सम्बन्ध ” नामको पुस्तकको चर्चा गर्ने अवसर मैले पाएको थिएँ ।सोही कार्यक्रममा उहाँको ओजस्वी,व्यक्तित्व  तथा   महिला अधिकारकर्मी र कार्यक्रमकोआयोजकको रुपमा सीता ओझाले स्वागतको माध्यमबाट आफ्नो विचार राख्दा म निकै प्रभावित भएँ । पेसागत महासंघको त्यो कार्यक्रमको अध्यक्ष पेसागत महासंघकी उपाध्यक्ष प्रभादेवी बज्राचार्य र कार्यक्रम सञ्चालक भवानी खड्काको प्रस्तुति पनि त्यतिकै प्रखर थियोे ।
अन्य कार्यक्रमहरु भन्दा त्यो कार्यक्रम मेरालागि निकै नौलो र भिन्न प्रकृतिको थियोे ।  मलाई  कार्यक्रमको भिन्नताले महिला आन्दोलनका अगुवाहरुको योग्यता र क्षमताको पहिचान गराउने महत्त्वपूर्ण माध्यम पनि बन्न पुगेको जस्तो लागिरहेको थियोे । मैले मेरो जीवनयात्रामा वि स २०३७ सालदेखि अनवरत महिलाको नेतृत्व विकास र लेखनकलाको विकासमा मात्रै गएको थियोे ।
वि स २०३७ सालको कुरा हो, रुपन्देहीमा अखिल नेपाल महिलासँघ पुनर्गठनको लागि सक्रिय भएका शान्ता मानवी र राधा ज्ञवालीहरुले अखिल नेपाल महिला संघको पुनर्गठन गरेको सन्दर्भ सम्झे । त्यो बेला मैले पनि एउटा कुनामा ,पुरुषको रुपमा भएपनि थोरै सहयोग गर्ने मौका पाएको थिएँ । पञ्चायती व्यवस्थाको पहिलो  कालखण्डपछि  महिलाहरुको  संगठन र क्षमताको विकासमा सरसहयोग गर्दै आउने मौका मिलेकोमा म गर्भ महसुस गर्दछु ।
   यसरी सरसहयोग गर्दै जानेक्रममा २०४९ सालमा महिला आन्दोलन वैचारिक उन्नयनको लागि ” दास युगमा महिलाहरुको अवस्था र नियति ” विषयको सोधपत्र  पनि तयार पारेको  थिए ।त्यो सोधपत्रमा महिलामाथि भएको उत्पिडनको विधि, व्यवस्थाभित्रको अत्याचार र अमानवीय व्यवहार र महिला माथि हुनेगरेको हिंसाको जरो कहाँसम्म गडेको छ ?  जरो कसरी पत्तालगाएर उखल्ने भन्ने विषयमा चर्चा गर्दा सामन्तवादी राज्य व्यवस्थामा सामन्तवादी सोचका कारण महिलाले पाउनुपर्ने न्युनतम अधिकारबाट पनि बन्चित गरिएको थियोे ! भन्ने विषय पनि सोधपत्रमा उल्लेख गरेको थिएँ ।
मैले तयार गरेको सोधपत्र मोदनाथ प्रश्रितद्वारा लिखित ” नारी बन्धन र मुक्ति ” नामक पुस्तकको अन्तरवस्तुसँग निकै मेलखाने किसिमको थियोे । तात्कालिन समयमा त्यो सोधपत्र महिलाको अधिकारहरुको आन्दोलनको महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्यो ।त्यो बाहेक पनि माक्र्सवादी चिन्तनका हरेक प्रशिक्षणमा महिलाहरुको विषयमा दार्शनिक पक्षबाट केही न केही विषय  र सन्दर्भ जोड्न पाउँदा मलाई असाध्यै खुसी लाग्थ्यो र जोडिरहँन्थें पनि ! यहि यात्राको क्रममा सीता ओझासँग पनि सयौं पटक भेट भयो तर  महिलाको अधिकारको विषयवस्तु र  उहाँले नै लेखेको पुस्तकको चर्चाको सन्दर्भमा  भएको भेट चाहिँ यो पहिलो हो । उहाँको विद्रोही चेतना र हक्की स्वभावको कारण राजनीतिक आरोह अवरोहमा धेरै जसो हामी एउटै यात्रामा छौं ।
बहुआयामिक व्यक्तित्व :
 मैले सीता ओझालाई चिन्दा  नेपालको शिक्षक आन्दोलनले खारेको स्थापित नेताको रुपमा चिनेको थिए । पछि उहाँद्वारा सम्पादित शिक्षाका बोल्छिन र शिक्षिका पुञ्ज नामका मुखपत्रहरु पन्ध्र वर्षसम्म निकाल्न सफल व्यक्तित्वको रुपमा  पनि चिन्न  पाएँ ।  शिक्षक संघ र संगठनको संयुक्त परियोजनाको प्रोजेक्ट कमिटी रिसर्च कमिटी र सम्पादन समिति जस्तो कार्यकारी जिम्मेवारीमा अनवर पन्ध्रौं वर्ष काम गरेको अनुभव छ उहाँसँग । उहाँ शिक्षकहरुका विभिन्न विषयको प्रशिक्षक/ सहजकर्ता पनि हो । उहाँ शिक्षक संगठनको आन्दोलनको क्रममा सयौं पटक गिरफ्तार तथा घाइते व्यक्ति पनि हो । उहाँअशक्त भएको बेला पनि आन्दोलनको नेतृत्व गर्न छोड्नु भएन। पछिल्लो पटक लेखनकै सन्दर्भमा कहिलेकाही गोरखापत्रमा लेख रचना सहित सीता ओझाको  पनि नाम भेटिन्थ्यो । पछिल्लो समयमा साहित्यिक यात्रामा कथा,कविता,नाटक,संवाद ,मनोवाद,हाइकु लगायत विधाका रचनाहरु पनि भेटिए ।यस्तै दर्जनौं सरकारी गैरसरकारी संघसंस्थाको आवद्धता,नेतृत्वको अनुभव मात्रै होइन बामपंथी आन्दोलनको कुसल र सक्रिय संगठक कार्यकर्ता ,अध्ययता र अनुसन्धान कर्ताको रुपमा देख्ने र चिन्ने मौका पाएँ ।
सीता ओझासँग शिक्षकको संगठन मात्रै होइन अभिभावकहरुको संगठनको पनि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी वहन गर्दै जिल्लाजिल्लामा अभिभावकका संगठन निर्माण गर्ने अभियानको लामै अनुभव छ । काठमाडौ महानगरपालिकामा मेलमिलाप गराउँदाको अनुभवसँगै मनोसामाजिक परामर्शको कार्यमा पनि विसौंवरणषको निरन्तरता र अनुभव छ।
  मानिसमा भएको सक्रिय निरन्तरता  नै उसको आकर्षणको केन्द्र हो । यहि सक्रियताले  ओझालाई शिक्षकको संगठन निर्माणको अभियान,अभिभावक सचेतनाको  आन्दोलन, सामाजिकआर्थिक रुपान्तरणको अभियानमा जोडिने अवसर मिल्यो । सीता ओझाको अध्ययनको झुकाव माक्र्सवादसंग जोडिएको कारण भौतिक परिस्थितिले निर्माण गरेको नयाँ चेतनासँग जोडिन गयो।उहाँलाई यस्तो प्रेरण बाम आन्दोलनको माक्र्सवादी चेतले प्रदान गर्यो ।  शिक्षक अभिभावकको मात्रै होइन महिलाहरुको अधिकारसँग जोडिएको महिला सुरक्षा दवाव समूह जस्तो संस्थामा पनि उहाँले  वैचारिक नेतृत्व गरिरहनु भएको देखिन्छ ।यसरी हेर्दा  उहाँ,आफू संगठित भएको स्थानमा कुशल वैचारिक नेतृत्व प्रदान गर्न  सक्षम व्यक्तिमा पर्नुहुन्छ।
राजनीतिक कार्यकर्ताको रुपमा उहाँ पुर्व माले,एमाले,माले,एमाले ,नेकपा हुँदै  अहिले नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिलासंग लगायत महिला आन्दोलनको अगुवाइको लामो अनुभव प्राप्त नेता हुनुहुन्छ । उहाँ महिला अधिकारका अनेकौं अभियान र सरोकारवाला संघसंस्थाको सञ्जालहरुमा जोडिनुभएको अभियन्ताको रुपमा पनि परिचित हुनुहुन्छ ।उहाँको राजनीतिक  पहिचान पहिल्याउन खोज्दा र राजनीतिक कित्ता रोज्नु पर्दा देशभक्त,राष्ट्रवादी र निष्ठाको कित्तामा उभिन सक्ने स्वाभिमानी व्यक्तिको रुपमा पनि चिनिने व्यक्ति  हो भन्न सकिन्छ ।उहाँले राजनीतिक दलमा संगठित हुँदा पाएको जिम्मेवारीहरु हेर्दा, दलको तल्लो कमिटीदेखि निरन्तर संगठनका हरेक संरचना हुँदै राज्य व्यवस्था,भौतिक योजना तथा पुर्वाधार,महिला विभागहरु समाल्दै दलको केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा पुग्नुभएको देखिन्छ ।
सीता ओझाको अध्ययन र चिन्तनले नेपाली महिलाहरुको समसामयिक अवस्था,चुनौती र समाधान विषयका गोष्ठी पत्रहरु प्रकाशित छन् । त्यस्तै सामाजिकआर्थिक  रुपान्तरणसँग जोडिएका पुस्तकहरु,अग्रणी महिलाहरुको जीवनी,सामाजिकआर्थिक रुपान्तरणका मुद्दाका विषयमा आधारित अनेकौं लेख तथा पुस्तकहरु छन् ।स्वरुपान्तरणका लागि पत्र मञ्जुषाका पत्रहरुले समाजमा भए,गरेका अनेकौं प्रकारका विभेदको अन्त्यको लागि दिशा निर्देश गरेको छ । उहाँको नाटक मौनताको अन्त्यले सार्वजनिक यातायातमा महिलामाथि गरिने हिंसाको अन्त्यको लागि विद्रोह गरेको छ ।नामेट कविता संग्रहले महिला र पुरुषविचको भेदको अन्त्य र समविकासको भाव देखेको छ । किशोरी कथा संग्रह भाग एक र दुई ले किशोरीको चुनौतीपूर्ण जीवनको आत्मरक्षाका  लागि अनेकौं प्रकारका उपायहरु सुल्झाएको छ भने  उमेरको उत्तरार्धमा सन्तानहरुले दिएको पिडाले झटपटाउनु भन्दा  आर्थिकसामाजिक रुपमा अभिभावकहरु पनि सन्तानको मोहमा नपरि सुरक्षित हुनुपर्ने विषयमा सन्तानको चोट कथा संग्रहले सन्देश दिएको देखिन्छ ।
उहाँ एक असल मिडिया कर्मी तथा विचारको प्रभाहकर्ता पनि हो । उहाँका विचारहरु  पत्रपत्रिका,पुस्तक र  सञ्चार माध्यमबाट मात्रै होइन,सामाजिक सञ्जालबाट पनि प्रसस्तै आएका छन् । सीता ओझाले प्रकाशित गर्नुभएको पछिल्लो कृति महिला, यौनिकता, हिंसा र सम्बन्ध नामक पुस्तक महिला र पुरुष दुबै प्रकृतिका सुन्दर र अनुपम उपहार हुन् । यो जगत छ र जीवन छ।यसलाई मानवजातीले आफ्ना सुन्दर सृजनाहरु द्वारा सम्वृद्ध बनाएक‍ो छ र अझै बनाउनुपर्छ । मानवजातीले मानव सव्यताको क्रममा प्रकृतिसँगै कठोर संघर्ष गर्दै अनेकौं प्रकारका सृजना र  आविस्कार गर्नु पर्यो । मानव जीवनको विकासको क्रममा खाद्यान्न ,वस्त्र,आवास आदिको संघर्षपुर्ण कथा नै आविष्कारको पहिलो खुटकिलो हो । साधनश्रोतको अभावको कारण अत्यान्तै सम्वृद्ध वर्ग पनि सबैभन्दा कम्जोर हुन पर्ने परिस्थितिमा पुग्दो रहेछ भन्ने  शिक्षा पनि मानवजातीले  अनुभवको रुपमा लिएको देखिन्छ ।
     बदलिँदो विश्व परिस्थिति र नेपाली समाजमा रहेको  वर्ग विभेदभित्रको दर्दनाक असमानता चिर्न  अझै कठिन देखिन्छ । एकतिर राज्य आफैंले गरेको दोहन अर्कातर्फ समान्तवाद,दलाल पुँजीवाद र नोकरशाहीहरुको दोहन सहन गर्न कठिन छ। आफू मात्रै सम्पन्न र शक्तिशाली बन्न खोज्ने अवसरवाद र अर्को समस्याले अराजकता बढेको बढैछ ।यस्तो राजनीतिक परिवेशभित्र सामाजिक र आर्थिक अपराधहरु बढ्ने गर्छन् । समाजमा हुने हत्याहिंसाले महिला,बालबालिका,जेष्ठ नागरिक र पहुँच बाहिरको जनसमुदाय हिंसामा पर्ने गर्छ । हत्या हिंसा जस्ता घटनाको शिकार  बन्ने राज्यको पहुँच बाहिरको शोषित पिडित वर्ग नै हो ।लेखक सीता ओझाले महिला,यौनिकता ,हिंसा र सम्बन्ध पुस्तकमा यिनै विषयको सरल चर्चा गर्नु भएको छ।
धर्म,संस्कृतिले समाजलाई अल्मल्याएर गरेको हिंसा,उपल्लो वर्गदेखि एकल महिलासम्मलाई समाजले हेर्ने  विभेदपुर्ण दृष्टिकोण,महिलाहरुमाथिको दोहोरो,तेहेरो दोहोन र उत्पिडनले परेको समस्याको विषयले यो पुस्तकमा प्राथमिकता पाएको छ।
यो पुस्तकमा यौनिकता के हो ? महिलाको यौनिकताको प्रयोगको  विषय र प्रसङ्ग सहित चर्चा गरिएको छ।लेखकले यौनिकताको विषयमा यसरी उल्लेख गरेको भेटिन्छ- यौनिकता मानिसको यौन तथा प्रजननसँग सम्बन्धित विषय हो। यो विषय चराचर जगतका सम्पुर्ण सजिवहरुसँग जोडिएको महत्त्वपूर्ण जैविक विकासको पक्ष हो । हाम्रो सामाजिक परिवेशमा यो विषयलाई संकुचित अर्थमा हेर्ने गरिन्छ ।तर यौनिकताभित्र मानवजातीको जैविक सामाजिक,सांस्कृतिक,व्यवहारिक  र मनोवैज्ञानिक स्वास्थोपचारदेखि राजनीतिक,आर्थिक सवालहरुले पनि प्रवेश पाएका हुन्छन् । यौनिकताभित्र मानवजीवनको निरन्तरता जस्तो आधारभूत पक्ष पनि समेटिएको हुन्छ । यो कुनै व्यक्ति विशेषको यौन चाहाना या कामुकताको अनुभवको व्यापकताको प्रस्तुति या स्तुति होइन । यो व्यक्ति विशेषको विशाल जीवनचक्र हो भनेर बुझ्नुपर्छ । पृष्ठ १०
ढसीता ओझाका अनुसार यौनिकता भनेको एक प्रकारको जैविक मन‍ोभाव हो ।जुन मानवजातीको जीवन र जगतसँगको प्रत्येक क्षणसँग ज‍ोडिएको र गाँसिएको हुन्छ ।यस्तो मनोभाव मानिसको मर्यादित अवस्थासम्म मात्रै सुपाच्य हुन्छ । यस्तो अवस्थालाई वरपरको परिवेशले सहजरूपमा स्विकारेको हुनुपर्छ नत्र समस्याहरु सृजना हुनसक्छ ।यस्ता विषयले घर,परिवारदेखि सार्वजनिक स्थलसम्म हुन थालेभने समाजले पचाउन्न । समाजले नपचाउने अवस्था भनेको हिंसा या अपराधमा परिणत हुने अवस्था  या अमर्यादित अवस्था  हो ।
यसले महिला र पुरुष मध्ये महिलालाई जोखिमपुर्ण अवस्थामा पुर्याउँछ । पुरुषको यौनिकताप्रतिको दृष्टिकोण र महिलाको यौनिकताप्रतिको दृष्टिकोणको  अन्तरले महिलाको स्वतन्त्रतामा दखल गर्दछ र समस्या या असहजता  पैदा गर्दछ ।यस्तो असहजता नै हिंसाजन्य अवस्था हो ।यो अवस्थामा सहमति र असमति जोडिनु हुन्न । यो पुस्तकले यो अवस्था जन्माउने वातावरण नै हिंसाजन्य यौनिकताको अवस्था हो भनेर बुझाउन खोजेको छ।
यो पुस्तक दुई खण्डमा विभाजित छ।पहिलो खण्डमा अमर्यादित यौनिकताको दृष्टिकोण निर्माण,महिला र पुरुषविचको अर्थ  परिभाषा र अवधारणाको चर्चा ठिकै छ। त्यो पछि यौनिकताभित्र यौन,यौनशिक्षा,लैङ्गिकता,मानव यौनिकता र यसको सामाजिक प्रभाव र अपराधसँगको सम्बन्धको चर्चा छ । यौनिकता,ल‌ङ्गिकता र अपराधसँग हिंसालाई समाजले जोड्न नसकेको पक्षलाई  प्रेम र विवाह जस्ता मानवीय आवश्यकताका विषयलाई  हिंसाजन्य अपराधसँग दाँजेर  व्याख्या सहित चर्चा गर्न खोजिएको छ।
 दोस्रो खण्डमा,लेखकले यौनिकताजन्य घरेलु हिंसा रोक्नको लागि राज्यको तर्फबाट व्यवस्था गरिएका कानुनी व्यवस्थाको जानकारी,महिलाका समस्या,सशक्तीकरणको आडमा महिलामाथि हुने घरेलु तथा यौनजन्य हिंसा र हिंसाजन्य अपराधलाई लुकाउन खोजिएका विषयहरु  जस्तै  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन,दिनडाहाडै  जान्नेको नाममा बोक्सीको आरोपमा ४-५ घण्टा एकोहोरो कुटपिट गरेको घटना,निर्मलाको बलात्कारपछि गरिएको हत्याको घटना साथै काठमाडौको विभिन्न स्थानका गल्ली र चोकहरुमा महिला,अशक्त र बालिकामाथि भएका अपराधजन्य घटनाहरुका बारेमा चित्रण गरेको छ।
 महिलामाथि हुने यस्ता हिंसा र अपराधको विषयमा राज्यको कार्यनयन गर्ने निकाय शक्ति  र पहुँच भएकाहरुले प्रयोग गरेर अपराधी लुकाउने,राजनीतिक संरक्षण गरिने कारण महिलाले अझै सुरक्षित हुननसकेको प्रसङ्गले पनि ठाउँ पाएको छ । संविधानले महिला र पुरुषलाई समानताको हक प्रदान गरे पश्चात् पनि अंश,वंश  र नागरिकताको विषयमा अझै कुदृष्टिकोण राख्नु पर्ने कारण पितृसत्तात्मक सोच हो । यो व्यवस्था परिवर्तनको सोचले मात्रै  रुपान्तन्तरित हुन्न ।यो रुपान्तरण हुन सोचान्तरणमा रुपान्तरित सोच भरिनु पर्दछ भन्ने सन्देश दिन खोजेको छ ।
यो पुस्तकको महत्त्व र विशेषतालाई निम्न बुँदामा प्रस्तुत गरेको छु ।
१, सम्भवतः नेपाली वाङ्मयमा यौनिकतालाई आधार बनाएर लेखिएको यो पहिलो पुस्तक हुनुपर्छ ।
२, लेखकले विषयवस्तुलाई विना संकोच खुलस्त प्रस्तुत गर्न सकेको देखिन्छ ।
३,यो पुस्तकले  महिला र यौनिकताको परिचय,पहिचान,परिभाषा ,समस्या र समाधानसम्मको शिक्षा र चेतना दिन खोजेको छ।
४, महिला र पुरुषविचको प्राकृतिक भिन्नतालमई मेटाउन सकिन्न तर एकअर्काविच मर्यादित जीवनमा परिणत गर्न स्वाभाविक बनाउन सकिन्छ ।
५,यौनिकताको विषयले महिला आर्थिकसामाजिक रुपले पछाडि परेको छ । अंश,वंश र नागरिकता मात्रै होइन श्रमको पनि शोषण भएको छ । महिलाको शरीरको पनि आफ्नो नियन्त्रणमा नरहे विषय पनि उल्लेख छ। यस्ता समस्याको जड भनेको  पुँजीवादी सोच नै हो । यसको अन्त्यकालागि समाजवादी चिन्तनको आवश्यकता सहितको राजनीतिक व्यवस्था चाहिन्छ ।

अन्त्यमा, सीता ओझाजीको यो पुस्तक मात्रै होइन,अन्य पुस्तक पनि सामाजिकआर्थिक रुपान्तरणको विषयसँग जोडिएका छन् । उहाँ राजनीतिक अभियान्ता मात्रै होइन । उहाँको राजनीतिक अभियान भन्दा ठूलो सामाजिकआर्थिक अभियान पनि छ । राजनीतिक चेतनाको यो जग उहाँले सदा सामाजिक रुपान्तरणमा लगाउन सक्नु होस ।साथै उहाँको लेखनयात्राले निरन्तरता पाओस् । शुभकामना

तपाईको बिचार