पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य

पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य

799

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।

पोखराका लागि रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित ४१, दिनेश खरेलले ३८ र दिलिप नाथले २७ रन बनाए ।

काठमाडौंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समाए एक विकेट लिए ।

जेरार्ड इरास्मसले दोस्रो ओभरको पहिलो बलमा ओपनर आन्द्रेस गौसलाई रनको खाता पनि खोल्न नदिइ माइकल लेभिटबाट क्याच गराए ।

छैटौं ओभरको अन्तिम बलमा रासिद खानले अर्का ओपनर दिनेश खरेललाई पेभेलियनको बाटो देखाए । एलबिडब्ल्युको धरापमा पर्नुअघि उनले २५ बलमा ६ चौका र एक छक्काको मद्दतले ३८ रन बनाए ।

कप्तान कुशल भुर्लेल आठौं ओभरको दोस्रो बलमा पेभेलियन फर्किए । सात रन बनाएर खेलिरहेका उनलाई रासिदले बोल्ड गरे ।

माइकल लेभिटले १२औं ओभरको पाँचौं बलमा आठ रन बनाएर खेलिरहेका आकर्षित गोमिललाई एलबिडब्ल्युको धरापमा पारे ।

रासिदले १६औं ओभरको चौथो बलमा दिलिप नाथलाई आफ्नो तेस्रो शिकार बनाए । २४ बलमा दुई छक्काको मद्दतले २७ रन बनाएका उनी बोल्ड भए ।

करण केसीले १७औं ओभरको पहिलो बलमा एक रन बनाएर खेलिरहेका माइकल लिस्कलाई एलबिडब्ल्युको धरापमा पारे । लगत्तैको बलमा नारायण जोशी रनको खाता पनि खोल्न नपाइ रासिदबाट क्याच भए ।

करणले १९औं ओभरको तेस्रो बलमा विपिन खत्रीलाई व्यक्तिगत एक रनमा लेभिटबाट क्याच गराए ।

तपाईको बिचार