काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताए ।
‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिस्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरू, मोहनविक्रम सिंह जस्ता योद्धाहरू जसले सबै चुनौतीहरूको सामना गर्दै आउनुभएको छ’, उनले भने ।
‘अनेकौँ उतारचढावहरू सामना गर्नुभयो । झन्डै झन्डै कम्युनिस्ट आन्दोलनहरू सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ ।’ मोहन विक्रमको बारेमा अध्यक्ष नेपालले भने ।
उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गर्दै नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट, पतित, स्वार्थी, मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरु पनि रहेको भन्दै समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरुले गर्नुपर्ने बताए।
तपाईको बिचार