आध्यात्मिक पर्यटन प्रवर्धन गर्न पोखरामा ध्यानयोग महाशिविर हुँदै

आध्यात्मिक पर्यटन प्रवर्धन गर्न पोखरामा ध्यानयोग महाशिविर हुँदै

627

काठमाण्डौं । नेपालको आध्यात्मिक सम्भावना विश्वव्यापी रुपमा प्रवर्धन गर्न पोखरामा ध्यानयोग महाशिविर गर्न लागिएको छ । महर्षि श्रीशिव कृपानन्द स्वामीजी सहभागितामा जीवन रुपान्तरणका लागि मंसिर १५ गते शनिबार पोखरा रंगशालामा शिविर गर्न लागेको हिमालय समर्पण ध्यानयोग नेपालले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० का सद्भावना दूतसमेत रहेका कृपानन्द स्वामीजीले आफूले कुनै पनि धर्मको प्रचार नगर्ने बताउँदै धार्मिकता भन्दा आध्यात्मिकता धेरै फरक रहेको स्पष्ट पारे । धर्म सिँढी र अध्यात्म घर भएको उनले बताए ।

उनले योगले मनलाई शान्त र स्थिर राख्ने बताए ।नेपालबाट ध्यानयोग सिकेर विश्वव्यापी रुपमा प्रचारप्रसार गरेको जानकारी दिए । उनले ४५ वर्षअघि नेपालको पशुपतिनाथदेखि रसुवासम्मको आध्यात्मिक यात्रा गरेको स्मरण गरे ।

‘नेपालबाट सुरु भएको ध्यान संस्कार अहिले विश्वभरका ७२ देशमा फैलिएको छ,’ उनले भने, ‘धेरैभन्दा धेरै नेपालीले ध्यान सिकून् र ज्ञान प्राप्त गरुन् भनेर बारम्बार प्रयास गरेको छु ।’ उनले नेपालबाट सिकेको ध्यान योग विश्वव्यापी रुपमा प्रचारप्रसार भए पनि नेपाल बत्तिमुनिको अध्यारो भएको टिप्पणी गरे ।

उनले ३० वर्ष पहिले नेपालमा प्राप्त ज्ञान सकेसम्म प्रचारप्रसार गरेको जानकारी दिँदै सद्भावना दूत कोभिड १९ का कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले बेलायत, भारत, जर्मनी, सिंगापुर, श्रीलंका, नेपालका सांसदहरुलाई ध्यान योग सिकाएको सुनाए ।

पोखराका मेयर धनराज आचार्यले कृपानन्द स्वामीजीको सहभागितामा हुन लागेको ध्यानयोग शिविर पोखरेलीका लागि दुर्लभ र अनुपम अवसर भएको प्रतिक्रिया दिए । कृपानन्द स्वामीजी ४ पटक नेपाल आएको जानकारी दिँदै उनले स्वामीजीको सहभागितामा पहिलो पल्ट पोखरामा गर्ने कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने बताए ।

भारतको नागपुरमा २ लाखको सहभागितामा भएको ध्यान शिविरमा सहभागी भएका मेयर आचार्यले पोखरामा समेत शिविर गर्ने प्रस्ताव राखेको उल्लेख गरे । पोखरामा गर्ने हिमालय ध्यान योग शिविरको अघिल्लो दिन गण्डकी प्रदेश सभासँगको सहकार्यमा ध्यान योग कार्यक्रम गर्ने तय छ । शिविरको प्रवर्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्डको सहयोग छ ।

हिमालय समर्पण ध्यानयोग नेपालले गत मंसिर ७ गते काठमाडौं हलचोकमा र मंसिर ९ गते महेश सन्यास आश्रम देवघाटमा ध्यानयोग गरेको छ। नेपालमा विश्व स्तरको ध्यानयोग बनाउनुपर्ने र त्यसका लागि पोखरा आसपासमा जग्गा व्यवस्थापन गर्नुपर्ने संस्थाले प्रस्ताव गरेको छ ।

आफूले व्रिटेन, भारत, जर्मनी, सिङ्गापुर, श्रीलङ्का र नेपालको संसदमा समेत शिविर सञ्चालन गरेको भन्दै स्वामीले आत्मालाई एकीकृत गर्नु नै ध्यान भएको बताए ।

पोखराका मेयर आचार्यले स्वामी कृपानन्दलाई स्वागत समेत गरेका थिए ।

तपाईको बिचार