पशुपतिमा बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा

पशुपतिमा बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा

605

काठमाडौं ।  बाला चतुर्दशीमा पशुपति क्षेत्रमा शतबीज छर्ने र बत्ती बाल्ने कार्यको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  कोषले काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकासहितको सहयोगमा सबै तयारी पुरा भएको जनाएको हो ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

बत्ती बाल्न र शतबीज छर्नका लागि देशभरबाट श्रद्धालु काठमाडौं आउनेक्रम सुरू भइसकेको छ । मार्गशीर्ष कृष्ण त्रयोदशी आज (शुक्रबार) पितृका नाममा बत्ती बाल्ने गरिन्छ ।

पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । शनिबार (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ । बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने जनविश्वास छ ।

मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ । मातापिता सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ । पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ । १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

पितृका नाममा शतबीज छर्न पशुपतिनाथमा देशभरका श्रद्धालु काठमाडौं आएका छन् । आफ्नै आसपास रहेका शिवालयमा बत्ती बालेर बस्ने र शतबीज छर्ने पनि गरिन्छ ।
काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकालगायत अन्य संघसंस्थाको सहयोगमा श्रद्धालुलाई सहज बनाउने कोषले जनाएको छ । यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ ।

तपाईको बिचार