कविता - सम्बन्ध 

कविता – सम्बन्ध 

701
सीता ओझा
सम्बन्ध
व्यक्ति,परिवार र समाजसँग
बाँधिएको  जुइनो हो ।
सम्बन्धसँग
घर,परिवार,
समाज र राज्यको
भावना र ममता
गाँसिएको हुन्छ र हुनैपर्छ ।
सम्बन्ध
रगतको होस या भावनात्मक
एकल होस वा
परिवारमा जोडिएकै
किन नहोस् !
मर्यादा र सहअस्तित्वसँग
नाँचेर बाँचेको हुनुपर्छ ।
सम्बन्धमा
स्वार्थ,व्यापार, नाफा
अवसर,पद र प्रतिष्ठा
जोडियो भने
सम्बन्ध नै विग्रन्छ
 चिसिन्छ र फत्कन्छ ।
चिसिएको सम्बन्ध
बचाउनु भन्दा
विच्छेद गर्नु नै
उत्तम र अति उत्तम हुनेगर्छ ।
सम्बन्धले
मानिसको मानसिक र भौतिक
पक्षको पहिचान गर्दै
निकट र चिनजान गराउछ ।
सम्बन्धको भावसगँ
जोडिएको रसोपानले
मित्रतालाई
नातामा जोडिदिन्छ ।
सम्बन्ध
कुटनैतिक र सह-हृदय
मात्रै होइन,
नजिक र टाढा बनाउने
जुइनो हो ।
आशंका र तिक्तता बढाउने
भाव पनि जोडिने
त्यान्द्रो पनि हो ।
सम्बन्धमा
आशंका र तिक्तताले
दुरी बढाउछ ।
सम्बन्धभित्र
रस भएन भने
सम्बन्धको प्यास मेटिन्न
हार्दिकता र प्रेम भेटिन्न
मैत्रीपूर्ण व्यवहारमा
बाँच्न सकिन्न ।
सम्बन्धको
आग्रह र पुर्वाग्रहले
व्यक्ति व्यक्तिविच
कलह  बढ्छ
परिवार फुट्छ,
घर भत्कन्छ र
विग्रह छताछुल्ल हुन्छ ।
सम्बन्धको विग्रहले
धर्म,संस्कृति,
रीतिरिवाज र राजनीतिमा
भेद बढाउछ
भेदको हिंसात्मकताले
युद्ध निम्त्याउछ
मानवीय भावना
क्षत विक्षत बनाउछ
सम्बन्धको गाँठो फुस्कन्छ
अग्रजले निर्माण गरेको
आधार शिला भत्काउछ ।
हेरेक मानिसले
मानिसको स्थान,मान र
भुमिकाको महत्त्व बुझेर
बोल्दा या व्यवहार गर्दा
मात्रै सम्बन्ध सुध्रन्छ  ।

तपाईको बिचार