काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्न सार्वजनिक बिदा दिन भनेको हो ।
स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन समेत आयोगले भनेको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।
आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
तपाईको बिचार