काठमाडौं । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट शिव प्रसाद ढुंगानाको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ । उनले गोविन्दराज श्रेष्ठलाई ३२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
ढुंगाना र श्रेष्ठ प्यानलै बनाएर चुनाव लडेका थिए । अध्यक्ष बाहेक ढुंगानाको प्यानलले खुला उपसचिव पनि जितेको छ । उपाध्यक्षमा दुवै प्यानलबाट साझा उम्मेदवार बनेका सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका छन् ।
सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् । मादेनले ढुंगाना प्यानलका छत्र प्रसाद रिमाल पराजितलाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेका हुन् ।
खुला उपसचिवमा ढुंगाना प्यानलका यादव बहादुर खापुङ निर्वाचित भएका छन् । मेन्छेयायेम गाउँपालिकाका अध्यक्ष समेत खापुङले २२० मत पाएका हुन् । श्रेष्ठ प्यानलका उपसचिवका उम्मेदवार अर्जुन ढुंगानाले २०८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छन् । ढकालले १७५ मत प्राप्त गरेकी छन् । ढुंगाना प्यानलकी सरिता खड्काले १६५ र प्यानल बिनै चुनाव लडेकी तारा कार्की गुरुङले ७८ मत प्राप्त गरेकी हुन् ।
अध्यक्षमा निर्वाचित ढुंगानालाई कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले कोशी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी लगायतका नेताहरूको समर्थन गरेका थिए । त्यस्तै वर्तमान प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल लगायतले श्रेष्ठलाई समर्थन गरेका थिए । श्रेष्ठ पूर्व शिक्षक हुन् भने ढुंगाना यसअघि जिल्ला समन्वय समिति तेह्रथुमको प्रमुख थिए । ४५५ प्रतिनिधि रहेको एमाले तेह्रथुमको अधिवेशनको निर्वाचनमा ४४७ जनाले मतदान गरेका थिए ।
तपाईको बिचार