काठमाडौं । नेकपा एमालेले श्रीलंकामा नेशनल पिपुल्स पावर (एनपीपी) नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत पाएकोमा खुशी व्यक्त गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले एक बक्तव्य जारी गर्दै श्रीलंकाको संसदीय चुनावमा वाम पार्टीले अभूतपूर्व सफलता पाएकोमा खुशी प्रकट गरेका हुन् ।
‘विज्ञप्तिमा भनिएको छ- हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ’ एनपीपी गठबन्धनले श्रीलंकाको संसदीय चुनावमा २ सय २५ मध्ये एक सय ५९ सिट जितेको छ । यसअघि संसदमा एनपीपीको ३ सिट मात्र थियो ।
हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा एनपीपीका अनुरा कुमार देशनायके राष्ट्रपति निर्वाचित भएका थिए । लगत्तै उनको पार्टीले संसदमा पनि दुई तिहाइ बहुमत पायो ।
‘हाम्रो पार्टी संकटका बेला जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलंकाले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छ’, महासचिवको बक्तव्यमा भनिएको छ ।
तपाईको बिचार