आफ्ना उम्मेदवारलाई डर धम्की दिएर पछि हट्न बाध्य पारिएको रास्वपाको आरोप

आफ्ना उम्मेदवारलाई डर धम्की दिएर पछि हट्न बाध्य पारिएको रास्वपाको आरोप

657

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेद्वारलाई डर धम्की दिएर पछि हट्न बाध्य पारिएको आरोप लगाएको छ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापा ब्याक भएपछि रास्वपाले त्यस्तो अभिव्यक्ति दिएको हो ।

शनिबार रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले फेसबुकमा एक पोस्ट गर्दै सुजाता र उनको श्रीमान बल थापालाई ४०-५० जना युवाको समूहले घरबाट लछारपछार गर्दै लगिएको दावी गरेका थिए । सुजाताको ससुरा सर्केगाड-४ को कांग्रेस सभापति रहेको र उनकै ईशारामा अपहरण गरिएको बुर्लाकोटीले आशंका गरेका छन् ।

तर, हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले सुजाताको अपहरण नभएको बताए । ‘हामीलाई पनि अपहरण भएको भन्ने सूचना आएको थियो’ उनले भने, ‘मैले सुरक्षा संयन्त्रमार्फत बुझ्न लगाएँ । सुरक्षा संयन्त्रले उहाँसित कुरा गर्दा आफू सकुशल रहेको र कुनै सुरक्षा खतरा नरहेको बताउनुभएको छ ।’

थापाले भने आफ्नो राजनीतिक पृष्ठभूमि फरक रहेकाले रास्वपाबाट उम्मेदवारी दिने मनशाय नरहेको बताएकी छन् । यसलाई पनि सुजातालाई डरत्राशमा राखेर बोल्न लगाइएको रास्वपाको आरोप छ ।

रास्वपाका केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक गणेश पराजुलीले थापाले आफू उपाध्यक्ष नउठ्ने जानकारी पार्टीलाई गराएको बताए । उपनिर्वाचन हुने अन्य क्षेत्रमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई डर धम्की दिने काम भइरहेको रास्वपाको आरोप छ ।

तपाईको बिचार

सम्बन्धित खबर