काभ्रेपलान्चोक । काभ्रेको पनौती नगरपालिका स्थित कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले असोज ११ र १२ गतेको विपदबाट क्षति भएका पशु चौपायाको पशुसुरक्षण विमा रकम भुक्तानी वितरण गरेको छ।
आज (शनिबार) नगरपालिकाको वडा नम्बर १२ मा संस्थाले एक कार्यक्रम आयोजना गरी विपदमा ज्यान गुमाएका पशुको विमा रकम चेक मार्फत उपलब्ध गराएको छ। उक्त संस्थामा वडा नम्बर १२ का सेयर सदस्य किसानहरुको भैँसी ,गाई,बाख्राहरुको सामुहिक विमा कार्यक्रम अन्तर्गतको रकम किसानले पाएका हुन ।
संस्थाले २५ जना किसानलाई सामुहिक पशु विमा बापतको २६ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरेको कलाँती भूमेडाँडा साना किसान कृषि सहकारी लिमिटेडका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिए ।
बाढिको क्षति मूल्यांकन अनुसार ५ वटा पशु क्षति भएर धेरै रकम पाउने किसान सुमित्रा थापा हुन । उनले ५ लाख ३० हजार मूल्यांकन बराबर ४ लाख १८ हजार रकम पाएकी हुन् । क्षतिको मुल्यांकनमा कम रकम पाउने किसानले ३० हजार बराबर २१ हजार रकम प्राप्त गर्ने राम चन्द्र के. सी रहेका छन् ।
कुनै समय सहकारीमा पैसा बचत गर्न र विमा गर्न नमान्ने किसानलाई आज पशु विमाको रकम वितरण गरेर किसानको हकमा नयाँ काम गर्न सकेको भन्दै संस्थापक अध्यक्ष हुमागाईले खुशि ब्यक्त गरे । उनले, अब तिनवटा सम्म विपदमा पनि विमा रकम दिन संस्था सक्षम रहेको बताए । उनका अनुसार संस्थामा एक करोड २० लाख विमा रकम संचित रहेको छ।
असोज ११ र १२ को बाढीबाट भएको क्षतिको रकम पाउँदा समयमा विमा गरेर राम्रो गरेको किसानहरु बताउँछन् । विमा बापतको रकम पाउँदा पीडित किसानहरुको हर्षका आँसु झरेका थिए। संस्थाले एक लाख विमा बराबरको बार्षिक १२ सय रुपैयाँ किसानबाट उठाउने गरेको थियो ।
सोही कार्यक्रममा विपद प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित खानेपानीको निम्ति फिल्टर वितरण गरिएको थियो ।
तपाईको बिचार