काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई अघि बढाउन बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले बिहीबार काठमाडौंमा आयोजना गरेको नेपाल सम्वत् (नेपाल भाषा) न्हु दँ ११४५ को नयाँ क्यालेण्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले देश र जनताको समस्या बुझेर मुलुकलाई अघि बढाउनका लागि बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताएका हुन् ।
राम्रो सरकार भए हिम्मतका साथ अघि बढ्न सक्ने र बलियो समेत हुने उनले बताए । अध्यक्ष नेपालले मत दिने बेला पनि जनताले कुरामात्र गर्ने दल भन्दा पनि राम्रा दललाई छान्न सक्नुपर्ने धारणा राखे ।
उनले नेपालको राजनीतिको समस्या चरम भ्रष्टाचार, व्यक्तिवाद, गैरजिम्मेवार प्रवृत्ति र दूरगामी दृष्टिकोणको अभाव भएको उल्लेख गरे । नेपालको राजनीतिमा देखिएको भ्रष्टाचार अन्त्य नभएसम्म मन्त्रीको संख्या घटाएर पनि केही नहुने उनको भनाइ छ । अध्यक्ष नेपालले पदका लागि भन्दा पनि देश र जनताका लागि काम गर्नका लागि योजना बनाउन सुझाव दिए ।
उनले‘निराशाका कुरा गर्ने होइन, हाम्रो पार्टीको गति बढेको छ। कोशी, मधेशको रौतहट, धनुसामा हजारौंको संख्यामा पार्टी प्रवेश गराएर कार्यक्रम सम्पन्न भएका छन्। हालै कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। जो सानदार रुपमा सम्पन्न भएको छ। यसरी हेर्दा पार्टीको गति निरन्तर बढीरहेको धारणा राखे ।’
कार्यक्रममा नेपाल सम्वत् ११४५ को क्यालेन्डर विमोचन गरिएको हो । नेपाल नेवा राष्ट्रिय संघका अध्यक्ष माइला बाबू द्यौलाले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
कार्यक्रममा कार्यालय सचिव राम कुमार भट्टराई केन्द्रीय कमिटी सचिव शेर बहादुर कुँवर र सावित्रा भुषाल पोलिटब्योरो सदस्य तथा जनजाति महासचिव अध्यक्ष पासाङ शेर्पा , केन्द्रीय सदस्य भवानी खडका ,मुकुन्द गौतम ,चन्द् लामा लगायत नेताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा भित्ते पात्रो प्रकाशन उपसमितिका संयोजक न्हुच्छे बहादुर धुकुछुले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव हरिगोपाल प्रधानाङ्गले गरेका थिए ।
तपाईको बिचार