सीता ओझा
हर्केको घरमा सोह्र श्राद्ध भएकोले छोरीबेटी,ज्वाइँ,भाज्जाभान्जीले घर भरिएको थियो । घरमा पालेको सानो चिट्टिक परेको सम्झना ( कुकुर ) घरभरि मानिस देखेर कहिले माथि त कहिले तल बुर्कुसि मार्दै पाउनाको काखमा मडारिदै यता र यता दगुर्थ्यो । सम्झनाको लसर पसर देखेर कल्पनाकी (छोरी )नितु र सर्वेन्द्रको (छोरा ) समीर दङ्ग थिए ।
उनीहरू दुबै कुकुरसगँसगैं सुत्थे,लडीबढी गर्थे ।छेउमै बसेकी (रूपाकी छोरी) रुबिना कुकुर छेउमा आएको देखेर आतिँदै रोटी बेल्दै गरेकी रूपाको काखतिर दौडन्थि । रूपाको घरमा कुकुर थिएन । रुबिनाले कुकुरको स्नेह,स्पर्श र बफादारीता बुझेकै थिइन् । त्यहि भएर कुकुरले बाटो छेक्दै शिरदेखि पाउसम्म चाट्दै काख चड्दा उसको सातै जान्थ्यो र आमातिर दौडन्थि ।
सम्झनाले रुबिनासँग टाँसीएर दुख दिएको देखेर रूपा दिक्क भइ र भित्रपट्टि राखेको कठबाँसको लठ्ठी झिकेर सम्झनालाई मज्जैले ठोकी । कठबाँसको लठ्ठी खाएकी सम्झनाले कोकोहोलो गर्दै बाहिरिइ ।
खिर पकाउदै गरेकी नितुले सम्झनालाई पिटेको देखेर बेसरी कराइ । जन्मेदेखि सिहारेको कारण सम्झनाको नराम्रो कुरा नितुलाई सहन गाह्रो थियोे । सम्झनाले कुटाइ खाएर चिच्याएको सहन नसकेर नितुले भान्साको छेउमा कराउदै गरेको माने ( बिरालो ) लाई चिरपट्टले झोसी दिई ।
मानेले पनि ठुलै स्वरले ङ्वार ङ्वार गर्दै नितुतिर फर्केर चिथरौं झै गर्दै बाहिरियो ।
सम्झना र माने बाहिरपट्टि ढोकाको छेउमा पुगेर एकछिन खुबै लडे । कुकुर र बिरालोको सग्रामले श्राद्द गराउदै गरेका पण्डितलाई पनि चुप गरायो ।
कुकुर र बिरालोको झगडा मथर पार्न हर्के जुरुक्क उठ्यो र ढोकाको छेउमा गएर दुबैलाई लखट्यो । घरमा चौरासी व्यन्जनको बासना लिदै वर र पर गरेका सम्झना र माने एक दुई लठ्ठीले के भाग्थे र । यताउता जता लागे नि फेरि ढोका छेउमा आएर भान्सापट्टी फर्केर र्याल काड्दै कान दोब्रयाएर माया लाग्दा भएर बाटै छेकेर बस्थे ।
खानेकुराको लोभले मिलेका सम्झना र माने त्यहि पाइन्छ कि भनेर ढुकी रहेका थिए ।
खान पाउने स्वार्थका लागि मिले पनि खानकालागि एकछिन त दुबै सगैं बेसेर खाना कुर्नै पर्थ्यो ।
खाना कुर्ने बहानामा सँग बसेका सम्झना र हर्के बेला बेला बाध्यताले भलाकुसारी पनि गर्थे ।
भलाकुसारीमा सम्झनाले मानेलाई यस्तो भन्थि ,
” माने म त आज निकै मख्ख छु नि ! “
” किन र सम्झना ?
सम्झनाले खुसी हुँदै भनी ,
” हेर त ! आज घरभरि मान्छे नै मान्छे छन ।”
” खानेकुरा पनि पकाएको पकाइ छन, मलाई त सत्रै पल्ट्यो नि !”
” के को सत्र पल्ट्यो नि तँलाई चै ?”
सनक्क सन्कँदै मानेले भन्यो ।
” मान्छेपिच्छेको हातको गाँसले मात्रै होइन मेरा परिवारका सबैको पेट भरिन्थ्यो नि वाइ ।”
“यसैगरी दिनकै मान्छे आए त यो घरमा परिकार पाकि रहन्थ्यो !”
” दुखको कुरा, आज पछि यिनहरू जुट्ने दिन कहिले हुने हो कहिले !”
” त्यही भएर म यिनीहरूलाई कसरी खुसी पार्ने भनेर सेवा गरि राख्या छु नि !”
सम्झनाको कुरा सुनेर माने रिसले चुर भयो र भन्यो ,
” तँ त गद्दार रहिछेस ।”
” मलाई त घरभरि पाहुना आएको पटक्कै मन परेको छैन । आज जति दिक्क त मलाई कहिल्यै भएको थिएन बुझिस् ।”
“मेरो त बिहानबाटै मुडै खराब भा छ !”
” अझै,तेरो पारा देखेर त मेरो कन्पारो नै तातेको छ ।”
” तँ त दासै जस्तो गरि तेर्सिन्छेस ।”
” अति चाहिँ गर्नु हुन्न क्या !”
” किन नि ? “
सम्झनाले सोधी,
” अघिदेखिको तेरो लसपस त घरभरि पाहुना भएर रहेछ ! “
” मलाई त पाहुना होइन , तातो चुलो चाहिन्छ क्या ! “
” त्यसका लागि त यो घरका सबै कि हिड्नु पर्छ कि मर्नु पर्छ । “
मानेले बोल्दाबोल्दै सम्झना बोली, “के भनेको तिमीले ? यस्तो अशुभ पनि बोल्छन् ! म हैन,हैट ! तिमी पो स्वार्थी रहेछौ त ! “
मानेले आफ्नो पञ्जाले तर्साउँदै सम्झनालाई चुप गरायो र कुरा थप्न थाल्यो ।
” घरभरि मान्छे भएपछि म तातो चुलोमा बस्नै पाउन्न ! कस्तो नबुझेकी । सबै मरे त,म त्यो तातो चुलोमा चौविसै घण्टा सुतिरहन पाउथे । “
” खै ! तैले कुरा बुझेको ? “
श्राद्दको पिण्ड सेलाउन बाहिर निस्कन लागेको हर्के सम्झना र मानेको संवाद सुनेर छक्क पर्यो र ट्वाल्ल परेर हेरिरह्यो ।
मानिसको जस्तो स्वार्थ हरेक प्राणीमा हुन्छ भन्ने ठानेर हर्के पिण्ड सेलाएर चुपचाप भित्र छिर्यो । कुकुर ,विरालो र हर्केको व्यवहार नियालेकी सहनीलाई नेपालको सामाजिकआर्थिक रुपान्तरणको लागि परिवर्तनमा जुटेका दलहरुको व्यवहार र माने र हर्केको व्यवहार छिनाझम्टी एकै जस्तो भान भयो । सहनीले मनमनै तुलना गरेको कसैले थाहा पाएन ।
तपाईको बिचार