काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन्।
विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले मुलुकको गौरव बढाउने मौलिक संस्कृति संवर्धन जनतालाई सुख, समृद्धि र सामाजिक सद्भाव बढाउन यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई राख्नुपर्ने बताए।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै उनले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न सांस्कृतिक एकताको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषणका साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले सामाजिक न्याय तथा समानता कायम गरी राष्ट्र निर्माणमा लाग्न सबै नेपालीलाई आग्रह गरे।
तपाईको बिचार