काठमाण्डौं । यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।
दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरीयो । आजको दिन हिन्दूधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । अङ्कुरीत जमरा दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ ।
यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ ।
दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ ।
विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।
असोज २६ गते देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबारमा दसैँघरमा घटस्थापना गरीएको छ ।
नवरात्रको पहिलो दिन शैलपुत्रीको पुजा
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्।
वृषारुढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।।
घटस्थापनाको पहिलो दिन बडादशैं र नवरात्रको शुभारम्भ हुन्छ, जहाँ देवी दुर्गाको नौ दिनको पूजा विधिवत् रूपमा सुरु हुन्छ। यो दिन विशेष रूपमा कलश स्थापना गरिन्छ, जसलाई देवीको प्रतीक मानिन्छ। घटस्थापना नवरात्रि पर्वको सबैभन्दा महत्त्वपूर्ण भाग हो। नवरात्रको पहिलो दिन “शैलपुत्री”को पूजा गरिन्छ। देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा “शैलपुत्री” नामले चिनिन्छन् ।
शैलपुत्री देवी पार्वतीको पहिलो रूप हो, र “शैल” को अर्थ पहाड, जसकारण उनलाई पहाडकी छोरी भनिएको छ। पर्वतराज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ। शैलपुत्री शब्द दुई वटा शब्दबाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्री शब्द निर्माण भएको हो।
दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ।
मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन्। शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनुपर्ने उल्लेख छ। साथै कंदमूल वा ऋतु फल चढाउनु भनिएको छ।
हिमालय राजा शैलकी पुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी एवं अत्यन्त मनोहर स्वरूपमा सजिएकी देवीको वाहन वृष अर्थात् साँढे हो। आफ्नो दायाँ हातमा त्रिशूल तथा बायाँ हातमा पद्म धारण गरेकी नाना प्रकारका अलङ्कार तथा उत्तम वस्त्र धारण गरेकी देवी सुन्दर कन्याको रुपमा आराधना गरीन्छ ।
तपाईको बिचार