काठमाडौँ । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ ।
फ्रान्सेली वैज्ञानिक माइक्रो बायोलोजिस्ट लुइस पास्चरले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए। विश्व रेबिज दिवस अर्थात् आजको विशेष दिनमा रेबिज सम्बन्धित जानकारी तथा यसको रोकथामका उपाय एवं उपचारबारे जनचेतनामूलक कार्यक्रमहरू सञ्चालित गर्ने गरिन्छ ।
ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको हो । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ ।
हरेक वर्ष विश्वमा रेबिजबाट लगभग ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै यस रोगले ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । नेपालमा हरेक वर्ष रेबिजका एक सय नयाँ बिरामी देखिन्छन् ।
नेपालमा ९५ प्रतिशत रेबिज बौलाहा कुकुरको टोकाइबाट हुने गरेको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । अनुसार नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा र एक चौथाई जनसंख्या मध्यम जोखिममा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ भन्ने नारासहित यो वर्ष रेबिज रोगविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको विभागले जनाएको छ ।
विभागका अनुसार स्थानीय तहहरूले असोज ६ देखि १२ सम्मलाई सप्ताहव्यापीरुपमा रेबिजविरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू गर्न पत्राचार गरिएको छ ।
नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वार्षिक ७५ हजार हाराहारी मानिसहरू कुकुर टोकाइबाट पीडित भएर अस्पताल पुग्ने गरेका छन् ।
रेबिज के हो ?
रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । रेबिज एक जुनोटिक बिमारी हो । यो जनावरहरूबाट मानिसमा सर्ने गर्दछ । रेबिज नामक भाइरसद्वारा मानिसमा संक्रामक रूपमा फैलिने यो रोग रबडोविरिडे परिवारको लिसावायरस जिन्सबाट पैदा हुन्छ । रेबिजले विश्वभरि पछिल्लो ५ वर्षमा कोरोनाले भन्दा धेरैको ज्यान लिएको तथ्यांक छ ।
जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ ।
यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । ‘विश्व रेबिज दिवस’ संसारभर रेबिजको आतंकलाई स्वीकार गर्नका लागि मनाइने एक महत्वपूर्ण दिनका रूपमा लिइन्छ । रेबिज मानवसहित सबै स्तनधारी तथा विशेष गरी जंगली जनावरहरूमा लाग्ने रोग हो । यो दिवसले रेबिजजस्तो प्रतिकुल स्थितिसँग लड्न तथा जनावरहरूको रेखदेख गर्न र सन् २०३० सम्म रेबिज उन्मुलन गर्ने उद्देश्य राखेको छ ।
रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
तपाईको बिचार