काठमाण्डौं । नेपाल पत्रकार महासंघको असोज १२ गते तोकिएको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीमा गम्भीर आपत्ति जनाउँदै ३२ जिल्ला शाखाका अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। भदौ २९ गते प्रकाशित नामावलीमा अनियमितता र विधान विपरीतका कार्यहरू भएको उनीहरूको आरोप छ।
राजीनामा स्वीकृत भइसकेका अध्यक्ष विपुल पोख्रेलको हस्ताक्षरसहित नामावली प्रकाशन गरिनु विधान विपरीत भएको उनीहरूको ठहर छ। महासंघको नयाँ नेतृत्व चयनका लागि चुनाव हुन नसकेर विवाद बढिरहेका बेला भदौ २४ गते अध्यक्ष पोखरेलले राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
महासंघको विधान अनुसार सदस्यता वितरण र नवीकरण प्रक्रियामा शाखाको सिफारिस, प्रदेशको अनुमोदन र केन्द्रको अभिलेखीकरण हुनुपर्ने व्यवस्था रहेकोमा सो प्रक्रिया पालना नगरी नामावली प्रकाशन गरिएको उनीहरूको भनाई छ ।
यस्तै, पछिल्लोपटक सार्वजनिक गरिएको सदस्यता नामावलीमा थप भएका सदस्यहरूको नाम महासंघ केन्द्र आफैंले जारी गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ को विपरीत रहेको उनीहरूको दाबी छ। जिल्ला शाखाको निर्णयलाई पूरै बेवास्ता गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरीत पटक(पटक नाम थपिएको उनीहरूको आरोप छ ।
अध्यक्षहरूले सदस्यता नामावलीमा गरिएको अनियमितता नसच्याएसम्म जिल्ला स्तरमा निर्वाचन प्रक्रिया अघि नबढाउने चेतावनी दिएका छन्। साथै, समस्या समाधानका लागि जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाउन उनीहरूले सुझाव दिएका छन् । जबरजस्ती निर्वाचन प्रक्रिया अघि बढाइए कानुनी उपचारमा जाने चेतावनी उनीहरूले दिएका छन् । पटक पटक मिति घोषणा गर्दा पनि समयमै निर्वाचन गर्न नसकेको महासंघले शनिबार पुन निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
३२ जिल्लाका अध्यक्षहरूले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति हेर्नुस्-
तपाईको बिचार