काठमाडौँ जिल्लामा संचालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदान प्रदान गरिँदै

काठमाडौँ जिल्लामा संचालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदान प्रदान गरिँदै

725

काठमाडौँ । काठमाडौँ जिल्लाका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयहरूबाट आव २०८०/०८१ मा संचालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदान प्रदान सुरु भएको छ । कार्यक्रम तथा आयोजनाबारे सरोकारवाला पक्षसँग अनुभव आदान प्रदान गर्ने उदेश्यले बैठक शुरु भएको हो ।

बबहरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा शुक्रबारसम्म चल्ने कार्यक्रममा काठमाडौँ जिल्लाका महानगरपालिका तथा अन्य नगरपालिकाको एक वर्षभित्रका कार्ययोजना,बजेट विनियोजन,पूर्वाधार विकास,निर्माण,सामाजिक विकास,सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यक्रम,खर्चको अवस्था,बेरुजुको अवस्थाबारे बैठकमा समीक्षा गरिने छ।

काठमाडौँका दश‌ वटै नगरपालिकाको अवसर र चुनौतीबारे अनुभव आदान प्रदान गरिने बैठकमा आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन एकापसमा सहकार्य समन्वय साथै पूँजीगत खर्च वृद्धि, बेरुजु न्यूनीकरणलगायत विषयमा छलफल गरिने छ । काठमाडौँका जिल्ला समन्वय अधिकारी लक्ष्मण बिक्रम थापाले तीन तहका सरकारको संविधान प्रदत्त अधिकारलाई जिल्ला समन्वय समितिको पूर्वाधार विकास तथा निर्माण कार्यमा एउटै साँझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि थप समन्वयका खाँचो औँल्याए । संघीय प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ,राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, बागमती प्रदेशसभा सदस्य समिता खड्गी श्रेष्ठलगायतले कार्यक्रमको सफलताको शुभकामना दिँदै तीन तहका सरकारको विशेषता र अधिकारलाई जनहितमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

काठमाडौँ महानगरपालिका योजना अनुगमन तथा मूल्याङ्कन इकाई प्रमुख सुमित्रा लामिछानेले सो महानगरपालिकाले गत आवमा रू २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकोमा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार खर्च गरेको जानकारी दिए ।

महानगरपालिकाले ५० प्रतिशत भन्दा बढी खर्च गरी कार्यसम्पादन सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। अन्य नगरपालिकाको कार्यप्रगति समीक्षाको क्रममा छ । बैठक शुक्रबार पुनः बस्ने छ ।

तपाईको बिचार