आज मानव बेचबिखन तथा ओसारपसार विरुध्दको राष्ट्रिय दिवस

आज मानव बेचबिखन तथा ओसारपसार विरुध्दको राष्ट्रिय दिवस

665

काठमाडौं  मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस बिहीबार मनाइँदै छ। दिवसको नारा ‘तीनै तहका सरकारको प्रतिवद्धता ;मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ तय गरिएको छ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। हरेक प्रकारको मानव बेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गरिन्छ ।

त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखन विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो। दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्याताकै कलङ्क र जघन्य अपराध भएको बताएका छन्। मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै यसविरुद्ध बनेका कानुनहरूको कडाइका साथ कार्यान्वयन गरिरहेको पनि उनले दाबी गरेका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयले मानव बेचबिखनमा परेका पीडित तथा प्रभावितको सशक्तीकरणका लागि अन्तरक्रिया, रोजगार तथा स्वरोजगार मूलक सीप विकास तालिम सञ्चालन गरिरहेको बताएका छन्।

अन्तराष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था छ । नेपालमा हाल ६ हजार १ सय महिला तथा बालबालिका बेचबिखनमा परेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा औँल्याइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर