काठमाण्डौं । पर्वतीय पर्यटन व्यवसायीहरूको साझा संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान ) को आसन्न निर्वाचनको अन्तिम तयारी भएको छ । यही भदौ १७ गते सोमवार हुन गइरहेको टानको ४७ औ साधारण सभा तथा अधिवेशनमा ‘सक्षम टान सबल पर्यटन, हाम्रो साझा अभियान’ भन्ने नारासहित सागर पाण्डे नेतृत्वको प्यानल घोषण भएको छ ।
आगामी दुईवर्षे कार्यकालका लागि हुन गइरहेको नेतृत्व चयन प्रकृयाका लागि पाण्डे नेतृत्वको १७ सदस्यीय समुह प्यानल नै बनाएर चुनावमा होमिएको छ ।
पाण्डे समूहले बिहीवार ठमेलमा पत्रकार सम्मेलन नै गरेर आफूहरूका २२ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । अध्यक्ष पदका प्रत्यासी पाण्डेले आफ्नो समूह समावेशी र क्षेत्रीय सन्तुलन मिलेको जुझारु र व्यवसायिक रहेको जिकिर समेत गरेका छन् ।
उनले राजनीतिक भागबन्डाले चुनिँदै आएको नेतृत्व भन्दा काम गर्न सक्ने व्यावसायीले बनाएको टिम बलियो र काम गर्न सक्ने भएको दावी गरे । ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा घोषणापत्र सार्वजनिक गरेको छ ।
पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चोलेन्द्र बहादुर कार्की आफ्नो समुहले सार्वजनिक गरेको घोषणा पत्रमा ट्रेकिङ व्यवसायीहरूका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने जस्ता सवाल उठान भएको बताउँछन् ।
यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, कर सम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने जस्ता पेशागत क्षेत्रका जल्दाबल्दा समस्याहरू घोषणा पत्र मार्फत उठान गरिएको कार्कीको भनाई छ ।
जलवायु परिवर्तनको एजेण्डा, पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ । नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने , पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने लगायत पर्यटन बोर्डमा पर्यटन सङ्घसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने जस्ता विषय घोषणापत्रमार्फत उठान गरीएको वरिष्ठ उपाध्यक्षका प्रत्यासी कार्कीको भनाई छ ।
यस्तै उक्त समुहले करसम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणापत्रमा समेटेको छ ।
पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा तामाङ, द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा डम्बर अधिकारीेको उम्मेदवारी छ ।
यस्तै सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद शिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी (भोटे) उम्मेदवार छन् ।
पाण्डे समूहले आफनो टीमलाई नेपाली कांग्रेसको संस्थापनइतर समूह, नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , नेकपा (एकीकृत समाजवादी) सहित स्वतन्त्र व्यवसायीहरूको समर्थन बताउँदै आएको छ । देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनीहरू दर्ता भई सञ्चालन भएपनि भएकम्पनी एक हजार ४ सय ३८ मात्र नविकरण छन् ।
महाधिबेशनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार कार्की आफूहरुको समुह नै खासमा व्यवसायी र व्यवसायीहरूका समस्याहरुको पहिचान गर्न सक्ने भएको र खास व्यवयायी भएको जिकीर गर्दै जित निश्चित भएको दावि गर्छन् । व्यवसायमा धेरै समस्या छन् खास गरी साना व्यवसायी र मजदुरका समस्या दुर्घटना र घाइते हुँदाका दुख र हैरानी थुप्रै सवाललाई व्यवस्थित गर्नु हाम्रो आगामी नेतृत्वको चुनौति भएको कार्कीको भनाई छ । उनी स्वयंसँग त एक कार्यकाल पदाधिकारीमा रहेर काम गरेको अनुभव समेत छ ।
यस क्षेत्रको मजदुरको हक हित र कल्याणका विषय वस्तु बुझेका व्यक्तिहरु नेतृत्वमा पुग्न सकेको खण्डमा यस क्षेत्रमा जरो गाडेर रहेका यावत समस्याहरू समाधानमा मद्यत पुग्ने कार्कीको वुझाई छ । हुन त पाण्डे समुहसँग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्को समुह पनि चुनावी मैदानमा छ ।
पाण्डे समुहका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार कार्की आफू स्वयं ट्रेकिङ पेसामा आबद्ध रहि त्यहाँका समस्या र समाधानका उपायहरुको खोजी गर्न सक्ने क्षमता आफूसँग भएको भन्दै ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको दावी गर्छन् । आफ्नो समूहका सबै उम्मेदवारहरु व्यवसायमा दक्ष र पोख्त भएको भन्द निर्वाचनलाई मितव्ययी बनाउन आफ्नो कार्यकालमा लागि पर्ने बताए ।
सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका ३, बासामा जन्मिएका कार्की हिमालयन जोय एडभेन्चर प्रा।लि।का प्रबन्ध निर्देशक हुन् । उनले विगत लामो समयदेखि पर्यटन क्षेत्रमा सशक्त नेतृत्व निर्वाह गर्दै आएका छन् । उनीसँग एक कार्यकाल टानको प्रथम उपाध्यक्ष भएर काम गरेको अनुभव छ । अक्वा कुनो रेष्ट्रोका प्रबन्ध निर्देशक कार्कीका होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् ।
लाइन्स क्लब, किवानिज क्लब, रोटरी क्लबलगायत सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामासमेत सक्रिय कार्की बेलायत, न्यूजिल्याड, जर्मनी, इटाली, फ्रान्स, भुटान, चीन, भारत, अष्ट्रिया, दुवई, बेल्जियम, सिंगापुर, जापान, नेदरल्याण्डलगायतका देशहरुको भ्रमणसँगै पर्यटन सम्बन्धि राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार तथा बैठकहरुमा सहभागि भएर नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका कार्की पछिल्लो समयमा राज्यले पनि आर्थिक अवस्थालाई माथि लैजान पर्यटनको विकास गर्नुपर्छ भन्ने अवधारणा पनि जवरजस्त उठेको बताउँछन् ।
पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलको मुख्य एजेण्डाहरू यस प्रकार छन् ।
व्यवसायिक एवं साझा उम्मेद्वार सागर पाण्डे समुहको मुख्य एजेण्डाहरूआगामी सेप्टेम्बर २ अर्थात भदौ १७ गतेका दिन सम्पन्न हुन गइरहेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलको मुख्य एजेण्डाहरू यस प्रकार रहेका छन् ।
१ टान अक्षयकोषको स्थापना गरिने छ : टान कार्यसमितिको पहिलो बैठकबाटै पदयात्रामा संलग्न मजदुर तथा कर्मचारीका लागि दुर्घटना, अकालमा हुने मृत्यु वा भइपरी आइपर्ने समस्यामा राहत उपलब्ध गराउनेगरी र व्यवसायीहरूलाई आइपर्न सक्ने कुनै प्रकारका दीर्घकालीन रोग तथा महँगो उपचार गर्नुपर्ने अवस्थामा राहत उपलब्ध गराउनेगरी सुरक्षित विशेष अक्षय कोषको स्थापनाको कार्यलाई निर्णय गरि कार्यान्वयन गराइने छ ।
२. पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गरिने छ : आम व्यवसायीहरूको संतुष्टिनैं व्यवसायको सफलता हो भन्ने तथ्यलाई मनन गर्दै पर्यटन व्यवसायमा विद्यमान १३ % भ्याट व्यवसायिक हिसाबले असान्दर्भिक देखिएको सबै व्यवसायीले महसुस गर्दै आइरहनुभएको छ । पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएर देशमा पर्यटनको विकास गर्न हाल कायम रहेको अव्यवहारिक भ्याटको दरलाई हटाई वा परिमार्जनका लागि नेपाल सरकारको जिम्मेवार निकायसँग परामर्श र छलफलमार्फत सहकार्य गरी यथाशीघ्र कार्यान्वयन गर्न पहल गरिने छ ।
३. ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने छ : पदयात्रा प्याकेजको न्यूनतम् मूल्य निर्धारण गर्न व्यवसायीहरू र सरोकारवाला निकायसँग छलफल गरी ट्रेकिङ कम्पनीबाट अनिवार्य प्याकेज लिएर मात्रै पदयात्रामा जान पाउने व्यवस्था मिलाउनका लागि पहल गरिने छ ।
४. टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने छ: ट्रेकर्स सूचना व्यवस्थापन प्रणाली (टिआइएमएस) टिम्सको चेक प्वाइन्ट स्थापनालाई यथाशीघ्र प्रभावकारी ढङ्गले अघि बढाइने छ । नेपाल पर्यटन बोर्डको तर्फबाट टानलाई नियमपूर्वक बुझाउनुपर्ने रकमलाई उपभोग गर्न टानमार्फत विशेष योजनाहरू निर्माण गरी नेपाल पर्यटन बोर्ड र टानको बीचमा यस अघि भएको (टिआइएमएस) टिम्स सम्बन्धी सम्झौता संशोधन गरी समय अनुकुल बनाउनुपर्ने हुन्छ । विगतमा उक्त सम्झौता हुँदाको बखत स्थानीय सरकार गठन भएको थिएन । अहिले स्थानीय तह नैं स्थानीय निकायमा मजबुत भएको अवस्था छ । यसर्थ, सो कार्यमा स्थानीय निकायलाई पनि साझेदारी बनाएर पर्यटन बोर्ड, टान र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता गरी अनधिकृत पदयात्रीहरूको चलखेललाई नियन्त्रण गर्न विद्यमान टिम्सका चेकपोइन्टहरुको गतिविधिलाई नियमन गरि आवश्यकता पहिचान गरि नयाँ टिम्सका चेकपोइन्टहरु स्थापनाका लागि स्थलगत निरीक्षण गरी यथाशीघ्र अघि बढाइने छ ।
५. नियन्त्रित पदमार्गको पर्मिटमा सहजीकरण गरिने छ : हाल निषेधित क्षेत्रमा कायम रहेको दुई जनालाई मात्र दिइने पर्मिटको व्यवस्थालाई परिवर्तन गरी समय सापेक्ष बनाउन जरुरी रहेको हुँदा प्रति व्यक्तिलाई त्यस्तो पर्मिट दिनुपर्ने खाँचो छ । त्यसका लागि ‘पर्मिट फी’ र अनुमति नियमन ‘पर्मिट रेगुलेसनमा संशोधन गरी अगाडि बढ्न यथाशीघ्र पहल गरिने छ ।
६. कर सम्बन्धी समस्या समाधान गरिने छ : हाल राज्यलाई तिर्नुपर्ने करका विभिन्न दर तथा कर सम्बन्धी झन्झटिला प्रकृयागत एवं ऐन लगायतका विषयमा देखिएका असहजता र पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग गहन छलफल र सहकार्य गरी उपयुक्त समाधानका लागि बहस र पैरवी गरिने छ ।
७. पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराइने छ : पर्यटकलाई स्तरीय र सर्वसुलभ सेवा प्रदान गर्नका निम्ति पर्यटक सवारी साधन खरिद प्रकृयामा भन्सार छुटको व्यवस्था अति नै महत्वपूर्ण रहेको हुँदा सो को व्यवस्थाका लागि सम्बन्धित निकायसँग पहल गरि कार्यान्वयन गराइने छ ।
८ वैकल्पिक पदयात्रा मार्गको डीपीआर तयार गरिने छ : अन्नपूर्ण ट्रेकिङ रुटका वैकल्पिक मार्गको निर्माणका लागि ‘पाइलट प्रोजेक्टको रुपमा डिपिआर तयारीको कार्यलाई यथाशीघ्र अगाडि बढाउन पहल गरिने छ । सो कार्यलाई देशका अन्य पर्वतीय पर्यटन सँग जोडिएका पदमार्गका क्षेत्रमा पौराणिक ट्रेकिङ रुटलाईनैं निरन्तरता दिँदै सबैको स्तर उन्नतिका लागि विज्ञ टोली नियुक्त गरी परामर्श लिई वैकल्पिक पदयात्राको ब्यवस्था लाई समयसापेक्ष बनाउँदै लगिने छ।
९. पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिइने छ : सगरमाथा र अन्नपूर्ण क्षेत्रका पदमार्ग बाहेक स्थापित भएका अन्य थुप्रै पदमार्गहरू पर्यटकहरूको रुचि बगाउनेगरी ती पदयात्राको प्रचारप्रसारमा जोड दिएर ‘स्टाट्रेजिक मार्केटिङ प्लान इम्लामेन्ट’ को अवधारणा अगाडि बढाइने छ ।
१०. जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने छ : विश्वमै जल्दोबल्दो एवं अन्तर्राष्ट्रिय चिन्तनका रुपमा देखा परिरहेको जलवायु परिवर्तनको विषय नेपालका लागि अझ महत्वपूर्ण छ भन्ने कुरा संयुक्त राष्ट्रसङ्घका महासचिवको केही समयअघि भएको नेपाल भ्रमणले पनि प्रमाणित गरिसकेको छ । पर्वतीय पर्यटनमा जलवायु परिवर्तनले पारेको असरको सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसमक्ष विशेष रुपमा उठान गरिने छ । सो गम्भिर विषयलाई गहन अनुसन्धान गराई नेपाललाई जलवायु परिवर्तनको विषयमा कम जोखिमयुक्त बनाउन र पर्वतीय पर्यटनका गतिविधिहरूलाई सुरक्षित बनाउन सबै प्रकारका बहस र पैरवी गरिने छ।
११. पर्यटन ऐनलाई समय सापेक्ष बनाइने छ : हाल कायम रहेको नेपालको पर्यटन ऐन पुरातन हुनुका साथै कतिपय ऐनहरू पर्यटन विकासमै पनि बाधक देखिन्छन् । देशको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि झन्झटिला तथा असान्दर्भिक देखिएका पर्यटन ऐनलाई समय सापेक्ष बनाउन पहलकदमी गरिने छ । त्यसका लागि विभिन्न सरोकारवाला पक्षहरूसँग छलफल गरी प्रकृया अगाडि बढाइने छ र हरेक ५/५ वर्षको अवधिमा पुनरावलोकन गर्ने व्यवस्था मिलाउन पहल गरिने छ ।
१२. ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने छ : समग्र देशको र पर्यटन क्षेत्रको विकासका लागि पनि “टुरिजम फर अल सिजन” महत्वपूर्ण छ । यसका लागि ‘एक्सपेरियन्सल टुरिजम’ लाई प्रवर्द्धन गरी व्यवसायीहरूलाई आवश्यक पर्ने सबै प्रकारका व्यावसायिक प्रशिक्षणहरू सञ्चालन गरिनुका साथै नविनतम् ‘होली डे प्याकेज’ हरूको अवधारणालाई अघि सारिने छ ।
१३. अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने छन्: ट्रेकिङ क्षेत्रमा अहोरात्र कार्यरत विभिन्न तहका कर्मचारी तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्नका लागि समय सापेक्षित अन्तर्राष्ट्रिय स्तरका ट्रेनिङ कोर्सहरू यथाशीघ्र सञ्चालनमा ल्याइने छन् ।
१४. नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गरिने छ: नेपाल एयरलाइन्सको हालको पुरातन व्यवस्थापनलाई परिमार्जन गरी सशक्त र बलियो बनाउनुपर्ने आवश्यकता चौतर्फी उजागर नै छ । त्यसका लागि व्यावसायिक पुनरुत्थान हुनेगरि देशको समग्र पर्यटन विकास गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त कुनै पनि एयरलाइन्स निकायलाई सीमित अवधिका लागि व्यवस्थापनको जिम्मेवारी दिई देशको एकमात्र राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सलाई व्यवसायिक बनाउन पहल गरिने छ ।
१५. एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने छ : नेपालको पदयात्रालाई विकसित, मर्यादित र व्यवस्थित गर्नका लागि पर्वतीय पर्यटन प्रर्वद्धन सँग जोडिएका एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्थाहरूसँग हातेमालो गरी नेपालमै पदयात्रा शिखर सम्मेलनको आयोजना गरिनुका साथै उनीहरूसँग स्थायी र दीर्घकालीन सहकार्यका लागि पहल गरिने प्रकृयाको थालनी गरिने छ ।
१६. पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने छ: नेपालको पर्वतीय पर्यटनको दिगो विकासका लागि स्वदेशमा रहेका सम्पूर्ण विदेशी दूतावास तथा विदेशस्थित सम्पूर्ण नेपाली दूतावास र कुटनीतिको निकाय एवं एनआरएनएसँग सहकार्य गरी अगाडि बढिने छ ।
१७. पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गरिने छ: समग्र पर्वतीय पर्यटन क्षेत्रका साझा समस्यालाई समाधान गर्न र पर्यटन क्षेत्रको दिगो विकास गर्नका निम्ति पर्यटन क्षेत्र सँग आवद्ध सम्पूर्ण सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गर्न नेतृत्वदायी भूमिकामा टानलाई अगाडि बढाइने व्यवस्थाको थालनी गरिनेछ ।
१८. पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गरिने छ : नेपाल सरकारका सम्बन्धित निकायहरू पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, स्थानीय निकाय, तथा सरोकारवाला सङ्घसंस्थासँग समन्वय गरी उनीहरूसँगको सहकार्यमा पर्वतीय पदयात्रासँग सम्बन्धित एवं समग्र पर्यटन क्षेत्रका समस्याहरू समाधान गर्न र पर्यटन क्षेत्रको दिगो विकास गर्न नेतृत्वदायी भूमिकामा रहेर पहल कदमी गरिने छ ।
१९. कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गरिने छ : पदयात्राको क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा व्यवसायीहरूलाई नियमित रुपमा कानूनी परामर्श उपलब्ध गराउनका लागि टानमा कानुन विज्ञहरूको टोली नियुक्ति गरि कानूनी परामर्श केन्द्र स्थापना गरिने छ । त्यसका साथै बैङ्क, वित्त, भ्याट, ट्याक्स लगायतका समस्यालाई सरलीकरण गर्न र विभिन्न समस्याहरूको झन्झटबाट व्यवसायीहरूलाई मुक्त गर्नका निम्ति सम्बन्धित विज्ञ व्यक्तिहरूको सहभागितामा फाइनान्सियल परामर्श केन्द्रको स्थापना गरि कार्यान्वयनमा ल्याइनेछ ।
२०. पर्यटन बोर्डमा पर्यटन सङ्घ संस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने छ : पर्यटन बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व हुने निजी क्षेत्रको सञ्चालक हाल विभिन्न निकायको सिफारिस र भनसुनका आधारमा हुने गरेको छ । त्यसलाई परिमार्जन गरी पर्यटन सङ्घ संस्थाबाटै प्रतिनिधित्व हुनेगरि पर्यटन बोर्डको सञ्चालक नियुक्तिका लागि पहल गरिने छ ।
२१. टानको विधान संसोधन गरिने छ : विधानमा संशोधनमार्फत भड्किलो र खर्चिलो टानको चुनाव प्रचार प्रसारलाई नियन्त्रण तथा नियमन गर्न, योग्य र अनुभवी व्यवसायहरूका प्रतिनिधित्व हुने खालको अवधारणा बोकेको कानूनी व्यवस्था परिमार्जन गरी नियमन गरिने छ ।
२२. टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने छ : टानको अघिल्ला कार्यसमितिहरूले पाइप लाइनमा राखेका र सञ्चालनमा रही पूरा हुन बाँकी रहेका महत्वपूर्ण र प्रभावकारी कामहरूलाई निरन्तरता दिई सफल कार्यान्वयनमा जोड दिइने छ ।
तपाईको बिचार