काठमाण्डौ । आज अगस्ट २९ तारिख विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरीन्छ । यस दिवसको उदेश्य भनेको चाँही परमाणु हतियार को तठस्तता र न्यूनतम प्रयोग गर्ने गराउने मा नै केन्द्रित छ ।
आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । यो दिवसले विश्वभरका सरकारहरूलाई आणविक हतियार त्याग्न र यस्ता हतियारको परीक्षण बन्द गर्न आग्रह गर्दै आएको छ ।
राष्ट्र सङ्घको ६४ औँ महासभाको ३५औँ घोषणापत्रमा सन् १९४५ १६ जुलाई पश्चात् २००० भन्दा पनि बढी आणविक हतियारहरू परीक्षण भइसकेको उल्लेख गर्दै मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्न हरेक प्रकारको प्रयास गर्नुपर्छ भनेर तोके बमोजिम नै यस दिवसको सुरुवात भएको हो ।
संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
विश्वमा पहिलो पटक सन् १९४५ को जुलाई १६ मा आणविक परीक्षण भएको इतिहास छ । त्यसपछि अमेरिकाले जापानको हिरोसिमा ६ अगस्त १९४५ को दिन संसारको पहिलो परमाणु बम प्रहार गरेको थियो। जसका कारण ३ लाख ५० हजार जनसङ्ख्या रहेको हिरोसिमामा एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा बम खसालिएको थियो ।
त्यसयता अहिलेसम्म विश्वभर २ हजार भन्दा बढी आणविक परीक्षण भइसकेको राष्ट्रसंघले जनाएको छ । यतिबेला रुस, अमेरिका, चीन, फ्रान्स, बेलायत समेत विश्वका ९ देशसँग १३ हजार भन्दा धेरै आणविक अस्त्र छ । विश्वको कूल आणविक हतियारको ९० प्रतिशत रुस र अमेरिकासँग रहेको आँकलन छ ।
आणविक शक्ति विकास अनि वृद्धिका लागि हो, बिध्वंशकालागि हैन । आणविक शक्तिलाई गलत प्रयोग गर्नुहन्न । जसलाई नियन्त्रण र निस्तेज गर्नु आज विश्व समूदायको सामू ठूलो चुनौति बनि उभिएको छ । आणविक परीक्षणले मानव समाजलाई मात्रै होइन वातावरण, बोट बिरुवा र जनावरको जीवनमा समेत व्यापक क्षति पुर्याउँछन् ।
विश्व परमाणु परीक्षण विरुद्धको दिवसले हामीहरूलाई सधैँ परीक्षणले निम्त्याउन सक्ने खतराप्रति सतर्क गराइरहेको छ । यसले हामीलाई आणविक अस्त्ररहित सुरक्षित भविष्य सुनिश्चित गर्न आफ्ना नेताहरूलाई झकझकाउन प्रेरित गर्दै आएको छ ।
तपाईको बिचार