मध्यरातदेखि मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच सुरु

मध्यरातदेखि मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच सुरु

779

काठमाण्डौं । इसापूर्व ३ सय वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन हुने महाकाली, नीलबाराही र भैरव नाच सुरु भएको छ । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक फरक सहरमा भैरव, महाकाली, निलबाराही लगायतका देवीदेवता तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै नाच सुरु हुने गर्छ ।

मल्लकालीन नाचका रुपमा रहेका नाचहरु मध्ये महाकाली नाचमा महाकाली, महालक्ष्मी, कौमारी, सिंह र म्ह्यखा, मैसासुर दैत्य एक एक, भूत भैरव, कवं, ख्याक र माकः (बाँदर) दुई दुई तथा बेता चार गरी १९ देवगणको सहभागिता हुन्छ ।

मल्लकालभन्दा अगाडिको समयमा मध्यपुरथिमिलाई भूतप्रेत, पिचासलगायत दानवको आक्रमणबाट जोगाउने विश्वास लिएको उक्त नाचहरु मल्लकालिनभन्दा अगाडिदेखि प्रचलनमा आएको वताइन्छ । मध्यपुरथिमिको विभिन्न सहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाइ टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको बताइन्छ ।

थिमिमा ताहाननीबाट थिमि भैलः (थिमि भैरव) नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच प्रदर्शन हुने गर्छन् । यी नाचहरुमा विभिन्न ५० भन्दा बढी व्यक्तिले विभिन्न देवी देवताको तान्त्रिक विधिबाट जगाएको मुकुण्डो धारण गरी विभिन्न बाजाको तालमा तान्त्रिक विधिअनुसार दैवी शक्ति जागा गराइ नाच्ने संस्कृतविद्हरु बताउँछन् ।

नीलबाराही नाचको क्रममा रातभर नाच्ने र टोलटोलमा बिहान भएपछि स्थानीयले पूजा चढाउने परम्परा कायमै रहेको छ । स्थानीयहरु रातभर नसुति जात्रा एवं नाचमा सहभागी हुने गर्दछन् । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष संलग्नता रहने गर्दछ ।
भैरव नाचमा भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण नाच्ने गरिन्छ ।

तपाईको बिचार