सञ्जय मिश्रा
रौतहट । तलब भत्ताको माग गर्दै बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीहरूले कटहरिया नगरपालिका २४ विद्यालयमा तालावन्दि गरेका छन् ।
उनीहरुले विद्यालयबाट पाउनुपर्ने सेवा सुविधा समयमा नपाएपछि २४ बटा सामुदायिक विद्यालयमा तालाबन्दी गरेका हुन् । कर्मचारी र शिक्षिकाले विद्यालय समय अगावै विद्यालयहरूको मूल गेटमा तालाबन्दी गरेको कारण बुधबार विद्यालयको पठनपाठन अवरुद्ध भएको कटहरिया १ मावि भासेढवाका प्रधानाध्यापक राम मंगल यादवले बताए । तालाबन्दीका कारण कटहरियामा रहेका ५ वटा मावि ५ निमावि र १४ आधारभुत विद्यालयहरुको पठनपाठन प्रभावित भएको नगर शिक्षा संयोजक अनिल कुमार निधिले पुष्टि गरेका छन् । तलब भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका थिए ।
बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीहरूले मङ्गलबार सम्म तलब भत्ता नपाएमा बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने भन्दै प्रेस विज्ञप्ति मार्फत जानकारी समेत गराई आन्दोलनमा नेपाल विद्यालय कर्मचारी तथा बाल विकास केन्द्रका शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा बिद्यालय कर्मचारी गत आइतबार देखि कार्यालय समय बिहान १० देखि ४ बजेसम्म नगरपालिका प्राङ्गण भित्र धर्नामा बसेका थिए ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता सहित ६४ जनाले आर्थिक वर्ष २०७९/०८० को वैशाख देखि आषाढ मसान्त सम्मको न्यूनतम थप तलब , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना २ हजारका दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएको भन्दै आन्दोलनमा उत्रेका छन् ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विद्यालय कर्मचारी तलब सुविधा पाउन बाट बञ्चित भएका हुन् । गत आर्थिक वर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले चासो नलिएको कारण तलब सुविधा पाउन नसकेको उनीहरूको आरोप छ ।
करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले वार्षिक करोडौँ रकम निकासा गराएपनि दिनरात मिहिनेत गरेका विद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवाल सँगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो नदेखाएको पीडितहरूले गुनासो छ ।
तपाईको बिचार