देशका धेरै ठाउँमा ठूलो वर्षा, ३४ जिल्लामाम ‘रेड अलर्ट’ जारी: सतर्कता अपनाउन आग्रह

देशका धेरै ठाउँमा ठूलो वर्षा, ३४ जिल्लामाम ‘रेड अलर्ट’ जारी: सतर्कता अपनाउन आग्रह

722

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरुमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा गर्जनरचट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।

यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।

आज र भोलि बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ ।

सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ दशमलव ८, चितवनको शक्तिखोरमा १ सय १ , सिन्धुलाल्चोकको बाहुनेपाटीमा ९८ दशमलव ४, उदयपुरको मुर्कुची बजारमा ९२ दशमलव ४, काठमाण्डौको कपनमा ९० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुना लगायतका जल मापन केन्द्रमा पनि ठूलो वर्षाको मापन भएको छ । यससँगै अरु विभिन्न क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

तपाईको बिचार