काठमाडौं । साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ। दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ ।
खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा-मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन्।
साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ।
दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ। चामलमा कार्बोहाइडेड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो। चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ।
तपाईको बिचार