काठमाडौँ, १२ चैत । होलीलाई लक्षित गरी आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ ओटा सवारी साधनलाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको थियो । होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् ।
यसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए । होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछी चालकले ट्राफिक नियम उलंघन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको छ ।
चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ ।
आइतबार काठमाडौं उपत्यका भित्र ललितपुरको ढोलाहिटीमा दिउँसो बसको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएका छन् । बा ४ ख ७०८० नम्बरको बसले बा ४५ प २७ १२ नम्बरको स्कुटरलाई ठक्कर दिदा मोरङ घर भइ हाल ललितपुर बस्दै आएका ४३ वर्षीय नर बहादुर माझी घाइते भएका हुन् । घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन सहित बस चालकलाई प्रहरी वृत्त चापागाउँले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मा पनि आजै बा ४ ख १९ २१ नम्बरको बस दुर्घटना हुँदा ३ जना सामान्य घाइते भएका थिए ।
तपाईको बिचार