कञ्चनपुर, १ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देश बचाउने, सुदृढ र विकसित बनाउने अभिभारा एमालेको काँधमा रहेको बताउनुभयो ।
ओलीले सुदूरपश्चिम प्रदेशको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ। हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ । तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन्।’
सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताउनु भयो । ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । दैजीमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ त्यो पनि अगाडि बढेको छैन’ ओलीले भन्नुभयो, ‘अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ । यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ।’
अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिनुभयो । ‘जनतामा राजनैतिक जागरण सामाजिक नागरिक सुरु गर्नुपर्छ त्यसको अगुवाइ नेकपा एमालेले गर्छ’ ओलीले भन्नुभयो, ‘त्यस अनुसारको नेतृत्व अगाडी बढाउनु पर्छ । सबैले यहाँबाट सहयोग गर्नुपर्छ ।’
कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुनेगरी काम गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।
तपाईको बिचार