हायु समुदाय र स्वास्थ्य सम्बन्धी अभ्यास एक अध्ययन

हायु समुदाय र स्वास्थ्य सम्बन्धी अभ्यास एक अध्ययन

937
हायु जातिको परिचय 
हायु जाति नेपालको एक आदिवासी सिमान्तकृत जनजाति समुदाय हो । उनीहरू आफुलाई आफ्नो भाषामा ‘वायू’ जाति पनि भन्ने गर्दछन् । उनीहरू आफुलाई किरात वायू भनेर चिनाउन चाहन्छन् । अन्य जातिले उनीहरूलाई हायु भनेर चिन्ने गरेका छन् ।
हायु (वायू) एक छुट्टै मौलिक अस्तित्व र सामाजिक संरचना भएको आदिवासी समुदाय हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल सरकारद्वारा आदिवासीहरूलाई पाँच (५) समूहमा विभाजन गरेर लोपोन्मुख आदिवासी जनजाति समूह अन्तर्गत राखिएको जातिगत समुदाय पनि हो । वि.स. २०७८ को राष्ट्रिय जनगणनाअनुसार हायुहरूको कुल जनसंख्या ३०६९ रहेको छ । राष्ट्रिय जनगणनाअनुसार हायु आदिवासी जनजातिको साक्षरता स्थिति हेर्ने हो भने ६० प्रतिशत जनसंख्या निरक्षर रहेको देखिन्छ । साथसाथै कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि रहेको उल्लेख छ ।
अध्ययनको समस्या
आदिवासी जनजातीका आफ्नै ज्ञान सिप र मौलिकता रहेको हुन्छन् । हायु समुदायमा स्वास्थ्या र विरामीप्रति के कस्तो ज्ञान र सिप रहेको छ ? हायु समुदाय र अन्य समुदाय बीच कस्तो भिन्नता पाइन्छ ? हायु समुदायको स्वास्थ्य अवस्था कस्तो रहेको छ ? उनीहरुले गर्ने स्वास्थ्य उपचार सम्बन्धी परम्परागत अभ्यास कस्तो छ भन्ने विषयवस्तुलाई यस अध्ययनमा मुख्य समस्याको रूपमा समावेश गरिएको छ ।
अध्ययनको उद्देश्यहरू
१. आदिवासी हायु समुदायको चित्रण गर्नु
२. हायु समुदायमा स्वास्थ्य सम्बन्धी रहेको ज्ञान वारे उल्लेख गर्नु
३. हायु समुदायले अवलम्बन गरेका स्वास्थ्य सम्बन्धी व्यवहारको विवेचना गर्नु
अनुसन्धानका प्रश्नहरू
१. हायु समुदायका विशेषताहरु के के रहेका छन् ?
२. हायु समुदायमा स्वास्थ्य सम्बन्धी अवस्था कस्तो रहेको छ ?
३. हायु समुदायको स्वास्थ्य सम्बन्धी ज्ञान, सिप र अभ्यासहरू कस्ता रहेका छन् ?
अध्ययनको विधि 
यस अध्ययनमा गुणात्मक अनुसन्धान पद्धतीको प्रयोग गरी दस्तावेज अध्ययन र प्रत्यक्ष अन्तर्वार्ताको माध्यमबाट सुचनाको संकलन गरिएको छ । हायु जाति सम्बन्धी लेख तथा दस्तावेजहरूको अध्ययन नै सूचना संकलनको आधार बनाइएको छ । ऐतिहासिक अनुसन्धान विधिमा आधारित रहेर सूचनाहरू पूर्ण रुपमा द्वितीय स्रोतबाट लिएको छ । प्राप्त सूचनालाई वर्णनात्मक र विश्लेषणात्मक ढाँचाबाट प्रस्तुत गरिएको छ ।
आदिवासी हायु  समुदायको विविध पक्ष 
मातृभाषा
हायु आदिवासी जनजातिको आफ्नै मौलिक भाषा रहेको छ । तर, उनीहरूको लिपि छैन । उनीहरूले बोल्ने भाषा भोटबर्मेली परिवार अन्तर्गत पर्दछ ।
हायु आदिवासी जनजातिहरूमा मातृभाषा बोल्नेको जनसंख्या लगभग ५ सय ५० जना रहेका छन्् । त्यसमा पनि सबैभन्दा बढी भाषा बोल्नेमा रामेछाप जिल्लाको सुकाजोर गाविसमा रहेको मुढाजोरका हायुहरू रहेका छन् ।
भेषभूषा÷गरगहना
हायु जातिको जातीय अस्तित्व झल्काउँने भेषभूषा र गरगहना रहेको छ । नेपालमा रहेका सबै आदिवासी जनजातिहरूको आआफ्नै किसिमका मौलिक तथा परम्परागत भेषभूषा रहेको पाइन्छ ।
पुरुषहरूले विषेश गरी आफँैले बुनेका टोपी, कछाड, भोटो र खादी (दुवै काँधबाट क्रस गरी लगाउने लुगा) लगाउने गर्दथे भने महिलाहरूले तुर्वान लेहेङ्गा (आधुनिक म्याक्सी गाउन चोलो, पटुका र धोती  लगाउँछन् । भने महिलाले गहनाका रूपमा प्वाँलाको माला, काँचको जुरा र चाँदीका गहना लगाउने प्रचलन छ ।
भूगोल 
हायु जातिले ऐतिहासिक भौगोलिक क्षेत्रको बारेमा अझैं यही हो भन्ने तथ्य प्र्रमाण भेट्न सकेको छैन् । उनीहरूले पाएको विर्ताका आधारमा भन्ने हो भने पूर्वमा रोङखोला, पश्चिममा च्यास्कुखोला, उत्तरमा सुनकोसी र दक्षिणमा मूलडाँडा (टिम्तीडाँडा) रहेको थियो ।
उनीहरूको दाबीअनुसार लिखु नदीको शिरदेखि सुनकोशीसम्म र हालको रामेछाप जिल्लाको साविक ओख्रेनी, सुकाजोर र रामेछाप गाविस हाल रामेछाप नगरपालिका आदिलाई आफ्नो पुख्यौली थाक थलो हो भन्ने उनीहरूको दाबी छ ।
हायको भूमिमा गैर हायुहरूले अनेक जालझेल गरेर उनीहरूको जग्गा जमिन हडप्ने काम गरेको स्थानीयवासीको भनाइ छ । गैर हायुहरू आएर मूखियालाई दाम (कुखुराको भाले र एक बोतल रक्सी) चढाएर जग्गा कमाउन पाऊँ भनेर मागे र पछि त्यो आफ्नै पनि बनाए ।
ओप्छेमी रानी (श्रीमहाङ्कालदेवी) को पूजा 
हायु जातिले ओप्छेमी रानी (श्रीमहाङ्कालदेवी) लाई इष्टदेवीका रूपमा लिने गरेको पाइन्छ । यस समुदायका मानिसलाई आवश्यक परेको वस्तु वा इच्छालाई ओप्छेमी रानी (श्रीमहाङ्कालदेवी) ले पूरा गर्छिन् भन्ने मान्यताले पूजा गरी उत्साह र उमङ्गका साथ मनाउने गर्दछन् ।
ओप्छेमी रानी रिसाएमा अनेक समस्या आउँछ भन्ने धारणा छ । यस प्र्रकार ओप्छेमी रानी (श्रीमहाङ्कालीदेवी) लाई यस जातिले सर्वशक्तिमान् देवीका रूपमा पूजा गरी मान्ने गरेको पाइन्छ ।
यो पूजा कुनै मन्दिर वा घरमा  भने गरिँदैन । देवीको पूजा रामेछाप जिल्लाको सुकाजोर गाविसको मुढाजोर स्थित काभ्राको ठूलो रूख छ, त्यहाँ नै देवीको निवास रहेको छ । प्वालको चारैतिर सयौं करोडौं संख्यामा त्रिशूल (विभिन्न धातुहरू सुन, चाँदी, फलाम आदि) र घण्टाहरू चढाईएको छ ।
ती घण्ट त्रिशूलहरू भाकल गरेर चढाएका हुन् । यो पुजा वर्षको एक पटक मात्र गरिन्छ । जुन फागुपूर्णिमा वा वसन्त पञ्चमीको दिनमा गर्ने चलन छ ।
भूमेपूजा 
रामेछाप नगरपालिका ७ सुकाजोर गाविस मुढाजोर गाउँस्थित एउटा ठूलो सिमलको रूखको फेदमा भूमेको थान छ । पहिले यो भुमेपूजा प्रत्येक वर्ष गरिन्थ्यो । तर  आर्थिक कारणले गर्दा यसपछि तीन÷तीन वर्षमा गर्ने निर्णय भएको थियो । यसो गर्दा धेरै आर्थिक भार पर्न गएका कारण प्रत्येक १२ वर्षको (जोर वर्षमा) एक पटक मात्र गनेए गरिएकोछ ।
यो ओप्छेमी रानीको थानदेखि १५० मिटर जति दक्षिणमा पर्दछ । यसको थान भने एउटा ठूलो सिमलको रूखमुनि रहेको छ । यस सिमलको रूखको फेद एकदमै ठूलो रहेको छ । ओप्छेमी रानीको फोचोद्वारा नै भूमेपूजाको पूजा गरिन्छ । जेठ शुक्लपक्षको पहिलो वा दोस्रो मंगलबारका दिन यो पूजा गरिन्छ ।
हायु समुदायमा स्वास्थ्य चेतना
यस समुदायले परम्परागत ज्ञानका रूपमा विरामी हुँदा गर्ने झारफुक र वच्चा पाउने र सिहार्ने सम्बन्धी जन्मदेखी मृत्युसम्मको संस्कारमा गरिने आफ्नै प्रकृतिको किम्वदन्ती रहेको छ । हरेक विरामीका आफ्नै उपचार पद्धती अबलम्बन गरेको यस समुदायमा जडिवुटी र धामीझाँक्री झारफुक पद्धतीलाई प्रमुख उपचार पद्धतीको रूपमा लिइन्छ । घर आँगन र वारी खेतमा लगाउने सत्य जीवन, डल्ले खुर्सानी, घोड्ताप्रे, चिराइतो, गाँजा, धतुरो, सुर्ति, कागुनी, जुनेलो र रातो घैँया, चिउरीको पिना र तेल, लाप्चे, रिठ्ठा, तितेपाती, किम्बु, जुनार, गिठ्ठा र भ्याकुर, वन तरुल जस्ता खाद्य तथा औषधीजन्य फलफुल र जडिवुटीको परम्परागत उपचार पद्धतीको प्रयोग यस समुदायको पहिचानसँग जोडिएको विषय हो ।
जंगलमा बेनी सुपारी, छुप्दी, तुल्वा, पाङ्गनाम, लाखम, लेई, चोयाम्सी बाँसको फूल आदि खाद्यान्नको रुपमा प्रयोग गरेको पाइन्छ । घरयासी कोदो डुसी, मकै माख्कै, धान बोजा, भटमास, लहरी, खाद्यन्न बालीको रूपमा खेतवारीमा लगाइन्छ । नख्कालो भोर्लाको पात, रिसामुपात, केराको पात, निगुर, जुली निवुवा, सिक्च्याङ्ग टाँकीको रुख, टास्तालो मुपुङ्गमी टोटलाको फूल, हो । माछाको परिकार बनाएर खाने प्रचलन छ । हायु दशैंमा मुख्य प्रसाद राजी बनाई सबैलाई बाँडिन्छ ।
हायु समुदायको स्वास्थ्य सम्बन्धी ज्ञान, सिप र अभ्यासहरु
१. दोख भएमाः भकारमा रहेको खुम्लेकिरा पानीमा घोलेर खाने रसे दोखका लागि गँगटोलाई सिलौटामा पिधेर खाने, सयपत्री फूल खाने ।
२. ज्वरो आउँदाः लजावती झार र मेथीको टुप्पो साथै चिराइतो र पारिजात उमालेर खाने, दल्सीन ढुङ्गा पोलेर तातो पानीमा डुवाएर खाने ।
३. डुलुवा लाग्दाः रातो डल्ले खोर्सानी र घोडताप्रे टाउकामा राख्ने
४. हड्डी भाँचिएको ठोक्किएको अवस्थामाः ठुलो डुम्रीको चोप लगाएर पौवाको बोक्राले वाँध्ने साथै चोयाको काम्रो बाँध्ने, चिप्ले किरा खाने दुधमा हालेर खाने, भालुको हड्डी घोटेर लगाउने, सिस्नो कुटेर लगाउने र काम्रो बाँध्ने ।
५. विरामीपर्दा खान मन नलाग्दाः दोबाटो मन्सिने, वेसार पानी खुवाउँदै ३ पटक टपरीमा राखी मन्साउने ।
६. सुत्केरी हुँदा छोरी पाए ३ दिन र छोरा पाए ५ वा ७ दिन दैलोमा भालेपोथी कुखुरा काटी दोथ्याउने ।
७. कतै जाँदा बच्चालाई ओदानको वा ३ चौकाको खरानीको टिको लगाउने चलन छ ।
८. महिनावारी रोकिदाः बाटुलेको लहरो कुटेर खुवाउने चलन छ ।
९. खान मन नलाग्दा वा नास पर्दाः सिउँडीको भित्रि भाग ताछेर दहीमा हालेर खुवाइन्छ ।
१०. विगार परेको हुँदा पेट खराव हुँदाः हलेदो कुटेर खाने ।
११.  घाँटीमा केही चीज अड्किदा गुराँसको फूल खाने ।
१२. ठेउला आउदाः गुम्सेर बस्नु पर्ने, कोदोको पिठो लगाउनु पर्ने, जुनेलो, लट्टे भुटेर भगाउने जस्तै जुनेलोको फूल जस्तै शरीरभरि ठेउला आएर आउदैन ।
१३. प्राथमिक उपचार आफैं घरमा गर्ने प्रचलन रहेको छ । जटिल रोग र घटना भएमा मात्रै अस्पताल जाने गरेको देखिन्छ ।
१४.रुघा लाग्दाः अभिजालो झारलाई आगोमा हालेर पुरुसुङ्ग गराउने र नाकमा सुगाउने ।
१५. सर्पले टोक्दाः गन्दे झार ।
१६. अरिङ्गालले टोकेमाः जाड लगाउने ।
१७. घाँटी दुख्दा ः निम काठ खाने ।
१८. आगोले पोल्दाः सर्पको बोसो लगाउने ।
१९. हाडे आएमा ः बडहरको चोप लगाउने ।
२०. सातो बोलाउनेः केटाकेटीका लागि अम्खरामा पानी ल्याएर सप्कोले हान्ने, डोकोले छोपेर ३ छप्का हानेर ३ फन्का घुमेर मन्साउने ।
२१.दोबाटे मन्साउनेः खिचिस्याको पातमा अक्षता राखी दोबाटोमा राख्ने ।
२२. पिनास भएमाः फुकेर विसेक पार्थे, गाईको गोबर र आँकको सुकेको डाँठलाई नाकले तान्न लागाउथे ।
२३. दाँत फुकाल्दाः गाईको गोबरले बाँधेर गोठको धुरी कटाउने ।
२४. आनो आएमाः अंगार गोलो घेरे बनाएर आउने भए यो भन्दा ठुलो आइन हैन भने जा भन्ने ।
२५. कुखुरा बिरामी हुँदा गुजरगानामा खाना पानी दिने प्रचलन कायम छ ।
२६. सुत्केरी हँुदाः ठुलो औषधी बनाउथे विभिन्न जडिबुटी जम्मा गर्ने मह र गाईको ध्यूमा भुटेर बनाउने प्रचलन छ ।
२७. हड्डी भाँचिदाः पहराको शिलाजित, सिकारी लहरा खाने ।
२८. पेट दुखेमाः सिलटिमुर खाने ।
२९. जगकाको औसधीः कागतीको पात ।
३०. झाडापखाला र वान्ता आएमाः अम्बाको बोक्रा ।
३१. पेट पोल्दा, पिसाव पोल्दाः सेतो काँडाको जरा खाने ।
स्वास्थ्य अवस्था
यस समुदायको स्वास्थ्य अवस्थाको बारेमा अध्ययन गर्दा शिक्षाले प्रमुख भुमिका खेलेको पाईन्छ । आदिवासी समुदाय भएकोले मौलिक अभ्यासका कारण उनीहरूको स्थास्थ्य अवस्था औसतमा अन्य समुदायको जस्तै विविधतामय भएको पाइन्छ । सांस्कृतिक  चाडपर्व रीतिरिवाज परम्परा अनुसार हायुहरूले मनाउने विभिन्न चाडपर्वहरू फरक–फरक किसिमका भएको हुँदा यसमा प्रयोग हुने खानपानले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । हायु समुदायले मनाउने ओप्छेप्मी रानी सेवा नवौं दिनसम्म मनाउने हायु दशैं लगायत वर्ष दिनसम्म मनाउने सबै चाडपर्वमा फरक किसिमका खानपान प्रयोगमा आउने गरेको पाइन्छ । जाँड रक्सीलाई वढी प्रयोगमा ल्याउने यस समुदायमा सरुवा रोगभन्दा पनि बढी नसर्ने प्रकृतिका मद्यपान र धुम्रपानजन्य रोगहरूले ग्रसित बनाएको पाइन्छ । कडा परिश्रम र मेहनती प्रकृतिपुजक यस समुदायमा स्वास्थ्य व्यवहारलाई प्राथमिकता दिनु पर्ने देखिन्छ ।
निष्कर्षः 
आदिवासी जनजाति समुदाय अन्तर्गत पर्ने हायु समुदायको आफ्नै मौलिक प्रकृतिको जातिगत पहिचान र विशेषता रहेको छ । प्राकृतिक पुजक यस समुदायको रैथाने र मौलिक खानपान जीवनशैली अभ्यासले स्वास्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण प्रभाव पारेको पाइन्छ । अध्ययनको क्रममा आदिवासीय ज्ञान सिप र अभ्यासहरू हराउँदै गएकोसमेत पाइयो । हायु समुदायले गरेको स्वास्थ्य सम्बन्धी परम्परागत उपचार पद्धती रैथाने वालीको प्रयोग जस्ता लोपोन्मुख अवस्थामा रहेका समुदायगत ज्ञान सिप भाषा संस्कृति र स्वास्थ्य अवस्थामा सुधार गर्न सबै जागरुक हुनु पर्ने देखियो  ।
हायु आदिवासी जनजाति समुदायको लोपोन्मुख समुहमा रहेको वर्ग समुदाय हो । विकास सूचाङ्कको हिसाबले लोपोन्मुख अवस्थामा रहेको यस समुदायको मौलिक पहिचान र विशेषता पनि लोप हुने अवस्थामा रहेको छ । यस समुदायको स्वास्थ्य सम्बन्धी ज्ञान सिप र धारणा साथै व्यवहारिक अभ्यासको बारे अध्ययन गर्दा विगतमा प्रयोग गरिएका कुराहरु आधुनिक जीवनशैली र सुविधाको प्रयोगले क्रमशः हराउदै गएको पाइन्छ ।

तपाईको बिचार