आजको मौसम

आजको मौसम

751

काठमाडौँ, ८ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती भने देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हुस्सु तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ३७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर