काठमाडौँ, ६ फागुन । महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए ।
पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ ।
महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, छेनाको जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन् । सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास–११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड एण्ड डेरी विषयका विद्यार्थी, नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास–८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइरहेका छन् ।
तपाईको बिचार