काठमाडौँ, २५ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् ।
आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका हुन् ।
यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा.महतले बताए । ‘कर्मकाण्डीरुपमा लागेर मात्रै हुँदैन । सबै निकाय गम्भीर बन्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘र सबै तह, निर्देशन समिति, कार्यान्वयन समिति लगायतले गम्भीरताका साथ काम गर्न जरुरी छ ।’
अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधिखोजी गरिरहेका छन् । अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन देखिने गरेको सम्झिँदै उनले अहिले त्यो अवस्था फेरिएको बताए । उनका अनुसार यो अहिलेसम्म नेपालमा सम्पन्न सबै प्रकारका सम्मेलनभन्दा विशेष हुनेछ । यो सम्मेलनमा विश्वभरका ९२ भन्दा धेरै देशका प्रतिनिधि सहभागिता बन्नेछन् । विश्व बैंकका अध्यक्ष र विभिन्न देशका सरकार प्रमुख र अर्थमन्त्रीहरूको सहभागिता समेत रहनेछ ।
सोहीकारण, वैशाख १६ र १७ सम्म चल्ने सम्मेलनलाई सफल बनाउँदै विदेशी लगानी भित्र्याउनका लागि नेपालले छाती फराकिलो पार्नुपर्ने डा.महतले बताए । ‘विदेशी लगानी आयो भने सबैलाई फाइदा हुन्छ,’ उनले भने, ‘लगानी नै आएन भने राज्यलाई र रोजगारीको खोजीमा रहेकालाई पनि फाइदा हुँदैन ।’
तपाईको बिचार