स्याङ्जा १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको बताउनुभयो ।
कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्नुहुँदै उहाँले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताउनुभएको हो ।
“संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उहाँले भन्नुभयो, “बहुमत पु¥याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।”
कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उहाँले बताउनुभयो । अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उहाँको भनाइ थियो ।
कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्नुहुँदै उहाँले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उहाँले भन्नुभयो, “कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”
नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उहाँको भनाइ थियो ।
तपाईको बिचार