कोशीमा दुई उम्मेदवारका लागि एमालेबाट ७ जनाको नाम सिफारिस

कोशीमा दुई उम्मेदवारका लागि एमालेबाट ७ जनाको नाम सिफारिस

745

विराटनगर, २० पौष । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।

कोशी प्रदेशका पदाधिकारीको बिहीबार काठमाडौँमा बसेको बैठकले चारजना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा हरिशचरण बानियाँ (झापा), उमानाथ ओली (झापा), परशुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ)को नाम सिफारिस गरेको हो । यस्तै तीनजना महिलामा रजनी मेचे (इलाम), मेचीमाया धिमाल र रुक्मिणी कोइराला (सुनसरी) रहेका छन् ।

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखको मतभार १९ रहेको छ ।

प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ । १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ । एमालेको भन्दा १२६४ ले गठबन्धनको बढी रहेको छ ।

तपाईको बिचार