भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छ : तोसिमा कार्की

भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छ : तोसिमा कार्की

837

काठमाडौँ, १७ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने माग गरेकी छन् ।

मंगलवार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले हुँदै नभएको आधारभूत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौँको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर थियो । अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गरिन् ।

उनले कानुन विपरीत कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका बिरामीहरूको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाइन् । सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौती गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन् । सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनी पटकपटक प्रश्न समेत गरिन् ।

तपाईको बिचार