कांग्रेसले राष्ट्रिय सभामा १० सिट दाबी गर्ने

कांग्रेसले राष्ट्रिय सभामा १० सिट दाबी गर्ने

755

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए । माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ ।

त्यसका लागि कांग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकांक्षीहरू सिफारिस गर्न आग्रह गरेको समिति सदस्य आनन्द ढुंगानाले बताए । एक प्रदेशले तीन जना आकांक्षीहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदेशले ७ दिनभित्र उम्मेदवार सिफारिस गर्नुपर्छ । उम्मेदवार कस्तालाई सिफारिस गर्ने मापदण्डसहित केन्द्रीय कार्यालयले पत्राचार गर्ने पनि उनले बताए । यस्तै पुस १२ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने पनि निर्णय भएको छ । कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ । महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्न लागेको हो । यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो । उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो ।

 

तपाईको बिचार