ओखलढुंगा, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको आरोप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेकाले उसले समाजमा साम्प्रदायिकतालाई मलजल गरिरहेको बताएका हुन् । उनले एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने बताए । उनले नेपाली दाजुभाइ दिदिबहिनीहरु अनावश्यक भावनामा बगेका भए त्यसले देश नबन्ने भन्दै देश बनाउन बलियो राष्ट्रिय एकता र समझदारी चाहिने बताए । उनले जनताका बिचमा फाटो ल्याउने नभई राष्ट्रिय एकता हुनुपर्ने बताए । ओलीले राजनीतिमा मतभेद हुनु स्वाभाविक भएपनि ती मतभेदहरुको समाधान गर्ने वैधानिक र कानुनी प्रक्रिया रहेको बताए ।
‘अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको हो । त्यसकारण अहिले पनि साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ’, अध्यक्ष ओलीले भने, ‘त्यो सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र त्यो सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता र त्यो एकतावद्ध प्रयासबाट देशको विकास एमालेले मात्रै गर्नसक्छ ।’
तपाईको बिचार