विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अर्मेनिया प्रस्थान

विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अर्मेनिया प्रस्थान

1805

काठमाडौँ, ४ मंसिर । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।

नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नुर्बुको यो ‘डेब्यु’ प्रतियोगिता हुनेछ । प्रशिक्षकमा लालबहादुर पौडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । विदाइका अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

सोही अवसरमा श्रेष्ठले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पारेका रविन थापालाई प्रोत्साहन स्वरुप पूर्व घोषित १० हजार नगद पुरस्कार पनि प्रदान गरे । एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङ्गले एशियन गेम्सको नतिजाले आफु दुःखी भएको बताउदै खेलको समीक्षा गर्दै कमि कमजोरीहरुलाई सच्याउदै आगामी दिनहरुमा नेपाललाई बक्सिङ्ग खेलबाट पदक जिताउन महासंघले योजना बनाउनु पर्ने कुरामा जोड गर्नु भयो । महासंघका अध्यक्ष राम अवालेले अन्य देशहरु बीसौ एशियन गेम्सका लागि अहिले देखि नै तयारीमा जुटिसकेको तर हामी भने प्रतियोगिता शुरु हुनेबेलामा पनि हाम्रा खेल नियकाहरुले योजनामा ढिलाई गरीरहेको अवस्था रहेकोले अन्तर्राष्टिय खेलहरुमा पदक जित्न नसकेको जानकारी गराउनु भयो । यसलाई आगामी दिनहरुमा सबै मिलेर सुधार गर्दै अघिबढने प्रतिवद्धता अवालेले गनु भयो ।

उक्त विदाई कार्यक्रमलाई सन्चालन गर्दैै महासंघका महासचिव मान बहादुर भण्डारीले महासंघले अबका दिनहरुमा बक्सिङ्गलाई विद्यालयस्तरबाट नै शुरुवात गर्दै जुनियर, र युथलाई विशेष योजनाका साथ प्रशिक्षणमा सहभागी गराउदै लैजाने र विगतका कमी कमजोरीहरुलाई सच्याउदै अघि बढने कुरा बताउनु भयो ।

उक्त विदाई कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका वरिष्ट उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, सचिव पुष्कर राज पन्त, कोषाध्यक्ष गौतम सुजखु, सदस्य रेखा थापामगर, तालिम तथा प्रशिक्षण विभागका निर्देशक एवम् मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, आईवा थ्री स्टार प्रशिक्षक दिपक महर्जन, टु स्टार प्रशिक्षक रमेश दास श्रेष्ठ, लगायत खेलाडी तथा पत्रकारहरुका विशेष उपस्थिति रहेको थियो ।

तपाईको बिचार