प्रचण्डले जनताको आँखामा कसिङ्गर हाल्न खोजिरहेका छन्ः नेता बस्नेत

प्रचण्डले जनताको आँखामा कसिङ्गर हाल्न खोजिरहेका छन्ः नेता बस्नेत

2045

सुनसरी, २० असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अन्तर्राष्ट्रिय मिसन र शक्तिको आडमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जातीय तथा धार्मिक द्वन्द्वको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको छ ।

स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगरपालिकाले आज आयोजना गरेको फुटसल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डको इसारामा कोशी प्रदेश, तराई तथा नेपालगञ्जलगायतका ठाउँहरुमा जातीय तथा धार्मिक सद्भाव भड्किरहेको भन्दै आक्रोस जनाउनुभयो । अन्तिर्राष्ट्रिय केही राष्ट्रहरु नेपालमा विभिन्न प्रकारका उच्छ्रीङ्खल गतिविधिहरु गरी आफ्नो उपस्थिती जनाउने तथा नेपाललाई अशान्तिको देशको रुपमा स्थापित गराउने खेलमा लागिरहेको उल्लेख गर्दै नेता बस्नेतले सोही मिसनमा प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरिरहेको आरोप लगाउनुभयो । कोशी प्रदेशमा आफ्नो पार्टीले बहुमत पाए प्रदेशको नाम पहिचनाको आधारमा राख्ने उद्घोष गरेर प्रधानमन्त्री प्रचण्डले जातीय तथा धार्मिक सद्भाव भड्कीएको उल्लेख गर्दै नेता बस्नेतले जनताबाट तिरस्कृत बनेको माओवादी र जातीयताको नाराले राजनीतिको दियो नबल्ने चेतावनी दिनुभयो । सामाजिक सद्भाव र एकताको माध्यबाटमात्र समाज रुपान्तरण सम्भव रहेको उल्लेख गर्दै नेता बस्नेतले जातजाती, धर्मसंस्कृति र परम्पराको नाममा राजनीति गर्नु नहुने उल्लेख गर्नुभयो । प्रचण्डले विभिन्न राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको विरुद्धमा अभिव्यक्ति दिई जनताको आखाँमा कसिङ्गर लगाईरहेको भन्दै नेता बस्नेतले आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले राष्ट्रपतिको रुपमा अगाडी बढाएका थियौं । प्रधानमन्त्री प्रचण्डले नागरिकता जस्तो राष्ट्रघाती विधेयक पारित गर्नुपर्ने, रेशम चौधरी जस्ता व्यक्तिहरुलाई सजायमुक्त गर्नुपर्ने, रिगल जस्ता गुण्डागर्दी गर्ने तथा दिउँसै खुँडा हानेर मार्नेलाई माफी दिनुपर्ने लगायत असंख्य बदनीयतका कारण एमाले र माओवादीको दरार आएकाले सुवास नेम्वाङ राष्ट्रपति बन्नबाट बञ्चित हुनुभएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिले प्रचण्डको यो घातको समिक्षा गर्ने नै छ । कोशी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु लागि परिरहेका छन् । सद्भाव भड्काउन खोजिरहेका छन्, सामाजिक एकता खल्वल्याउन खोजिरहेका छन्, त्यसको नेतृत्व प्रधानमन्त्री प्रचण्ड स्वयम्ले गर्नुभएको छ । जात, धर्मको नाममा सामाजिक सद्भाव भड्काउन खोजिरहनु भएको छ । यो वा त्यो बहानामा युवाको बिचमा द्वन्द्व सिर्जना गर्न खोज्दैछन् । तर हामी प्रष्ट छौं, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताभन्दा माथि कोही हुन सक्दैन । हामी दृढताका साथ नेपाली जनताको एकता, सद्भाव, विकास र समृद्धिको पक्षमा सतीसाल झैं अटल र अडिक भई अगाडी बढ्छौं । प्रधानमन्त्री प्रचण्डको राष्ट्र र जनताको विरुद्धका योजनाहरु असफल बनाउँछौं ।’

देशका मान, सान र इतिहास राख्ने कार्य युवा खेदकुदकर्मीको हातमा रहेको उल्लेख गर्दै उहाँले त्यसको नेतृत्व राष्ट्रिय युवा संघले गरिरहेको बताउनुभयो । स्व. सुवास नेम्वाङ राष्ट्रिय राजनीति, सामाजिक सद्भाव कायम गर्न, समृद्धिको नेतृत्व गर्न र सवैलाई मिलाएर लैजना सक्ने व्यक्ति भएको उल्लेख गर्दै उहाँले स्व. नेम्वाङ राष्ट्रिय राजनीतिको समस्याको समाधानको सुत्र भएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुवास नेम्वाङको हामी चेला हौं । जुन कुरा युवा पुस्ताले सहर्स स्वीकार गरी अगाडी बढिरहेका छौं । कोशी प्रदेशमात्र हैन, सिंगो मुलुकलाई महत्वपूर्ण योगदान दिएर जानुभएको छ । नेपालको संविधान लेखनमा महत्वपूर्ण र अतुलनीय भूमिका निर्वाह गर्नुभएको छ । विधिको शासन र न्यायीक सर्वोच्चताको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । राष्ट्रिय राजनीतिको समस्याको समाधानको सुत्रधार हुनुहुन्थ्यो ।’

२८ वटा टीमले सहभागिता जनाएको प्रतियोगितामा स्पोर्ट एरिना टीम विजेता बनेको छ । भने हिम शिखर टीम उपविजेता बनेको छ । विजेताले ५१ हजार रुपैंया तथा उपविजेताले ३१ हजार रुपैंयासहित मेडल प्राप्त गरेका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर