मुस्ताङ, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट र बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् ।
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षिय योजना निर्माणका विषयमा शनिबार मुस्ताङमा आयोजित सरोकारावालाहरुको अन्तक्रियामा मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । उत्पादनमा आधारित अनुदानले किसानलाई व्यवसायिक हुन प्रेरित गर्नुका साथै बढ्दो बिदेशीने दर र बेरोजगारको समस्या कम हुने अपेक्षा प्रदेश सरकारको रहेको उनले बताए । पछिल्लो समय जलवायु परिर्वतनको प्रत्यक्ष असर बढ्न थालेको बताउँदै उनले कागवेनीमा साउन २८ गतेको बाढी, उत्तरी भेगमा बढ्दो वर्षात, उत्पादनमा ह्रास यसैको प्रभाव रहेको बताए ।
उनले भने, ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमा पनि जिल्लागत विविधता छ । मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ । पर्यटन सँगै कृषिलाई पनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरिको स्याउ, आलु निकै प्रख्यात छ । हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्याउन सकेका छैनौँ, अब पुर्याउने गरि सामुहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ । जलवायु परिर्वतनको असर न्यूनिकरण गर्ने गरि हाम्रा योजना र कार्यक्रम बन्नुपर्छ ।’
तपाईको बिचार