यौनिक पहिचान र यौनिक अभिमुखिकरण तथा यौनिक अल्पसंख्यक सम्बन्धी कानूनी प्रावधान

यौनिक पहिचान र यौनिक अभिमुखिकरण तथा यौनिक अल्पसंख्यक सम्बन्धी कानूनी प्रावधान

3006
परिचय
धेरै मानिसले संसारमा महिला र पुरूष मात्रै छन् र यी दुई यौनबीच मात्र यौन सम्बन्ध हुन्छ भन्ने सोंच्दछन्। त्यसैले मानिसहरू यौनिक अल्पसङ्ख्यकप्रति अनुदार भइदिन्छन्। तर यस्तो हुनु ठीक होईन। संसारभर महिला र पुरूष बाहेक पनि विभिन्न यौनिक पहिचान र यौनिक अभिमुखीकरण भएका मानिस हुने गर्दछन्। यो सबै प्राकृतिक नै हो, र कसैले पनि कसैलाई जबरजस्ती यौन परिवर्तन गराउन सक्दैन। नेपालको संविधानले पनि यौनिक अल्पसङ्ख्यकको अधिकारहरू सुनिश्चित गरेको छ।
यौनिक पहिचान
यौनिक पहिचान भनेको हामीले आफूलाई यौन प्राणीको रूपमा बुझ्ने तरिका हो। यौनिक वा लैङ्गिक पहिचान भनेको कसैको यौन र कामुकताको सम्बन्धमा उसको आत्मबोध हो। यसले पुरूष, महिला वा यौनिक अल्पसंख्यकका रूपमा आफ्नै भावनालाई बुझाउँछ। यो भनेको कसैले कुन लिंग वा यौनका रूपमा आफ्नो पहिचान बताउँछ भन्ने कुरा हो।
यौनिक पहिचान भनेको तपाईं कसप्रति आकर्षित हुनुहुन्छ भन्ने कुरा होइन, तर तपाईं ‘को’ हुनुहुन्छ ( पुरूष, महिला, अन्तर(यौनिक, समयौनिक, पारयौनिक, क्वियर, आदि भन्ने कुराको एउटा अन्तर्निहित अवधारणा हो। कसैको लैङ्गिक वा यौनिक पहिचान जन्ममा तोकिएको लिङ्ग अनुसार नै हुन सक्छ भने कसैको त्यसभन्दा फरक समेत हुन सक्छ। हामी सबैका आ–आफ्नै यौनिक पहिचान छन्। हामीले सबै यौनिक पहिचानलाई सम्मान गर्नुपर्छ।
यौनिक अभिमुखिकरण
यौनिक अभिमुखीकरण वा झुकाव भनेको कुनै व्यक्तिको अरूप्रति यौन वा रोमान्टिक आकर्षणको भावना हो। यो यौनिक पहिचानको एक अंश हो जसमा अर्को व्यक्तिप्रतिको उनीहरूको यौन र भावनात्मक आकर्षण र त्यस आकर्षणबाट हुने व्यवहार समावेश हुन्छ। यसले कुनै पनि व्यक्तिको शारीरिक तथा भावनात्मक आकर्षणको दिशाबोध गर्दछ। त्यो आकर्षणस्
विपरीत यौनप्रति (Heterosexual) वा
समान यौनप्रति (Homosexual), वा
दुवै यौनप्रति (Bisexual) हुन सक्दछ , वा
कुनै यौनप्रति पनि नहुन (Asexual) सक्दछ ।
यौनिक अभिमुखीकरण शब्द कुनै मानिस यौनिक र रोमान्टिक रूपमा कोप्रति आकर्षित हुन्छ भन्ने सन्दर्भमा प्रयोग गरिन्छ। उदाहरणकालागि, यौनिक अभिमुखीकरणले हेटेरोसेक्सुअल, गे, स्ट्रेट, लेस्बियन, उभयलिंगी, अलैंगिक, क्वियर, वा प्रश्न गर्ने जस्ता शब्दहरू समावेश गर्दछ।
यौनिक पहिचान तपाइँले आफूलाई कसरी यौनिक रूपमा परिभाषित गर्नुहुन्छ भन्ने कुरा हो भने त्यसको एक भाग यौनिक अभिमुखीकरण हो। तर एक व्यक्तिको यौन झुकाव उसको लैङ्गिक पहिचानअनुसार नै हुन्छ भन्ने होईन। यो एक अन्तर्निहित वा अपरिवर्तनीय स्थायी भावनात्मक, रोमान्टिक वा अन्य व्यक्तिहरूका लागि यौन आकर्षण हो।
विपरित यौनिक (Heterosexual) यस्तो व्यक्ति हो जो शारीरिक तथा भावनात्मक रूपले आफूभन्दा विपरीत यौन भएको व्यक्तिप्रति यौनको दृष्टिकोणले आकर्षित हुन्छ। जस्तै पुरूष भएर महिलाप्रति आकर्षित हुनु।
समयौनिक (Homosexual)   यस्तो व्यक्ति हो जो शारीरिक तथा भावनात्मक रूपले यौनिक रूपमा आफूजस्तै समान यौन भएको व्यक्तिप्रति यौनको दृष्टिकोणले आकर्षित हुन्छ। जस्तै – पुरूष भएर पुरूषप्रति नै आकर्षित हुने व्यक्तिलाई पुरूष समयौनिक ‘गे’ (Gay) भनिन्छ भने महिला भएर महिलाप्रति नै आकर्षित हुने व्यक्तिलाई महिला समयौनिक ‘लेसबियन’ (Lesbian) भनिन्छ।
दुई यौनिक (Bisexual)  यस्तो व्यक्ति हो जो महिला तथा पुरूष दुवैप्रति भावनात्मक तथा यौनिक रूपले आकर्षित हुन्छ र दुवैसँग यौनिक सम्बन्ध राख्न सक्दछ।
पार-यौनिक वा देहान्तर (Transgender or Trans-sexual) यस्तो व्यक्ति हो जो शारीरिक वा दैहिक रूपमा ९जन्मदा० महिला वा पुरूष भए तापनि आफ्नो शारीरिक यौन भन्दा विपरीत व्यवहार गर्ने गर्दछन्। जस्तै – शारीरिक रूपमा महिला भए पुरूष जस्तो व्यवहार गर्ने, पुरूषको जस्तो पहिरन लगाउने, पुरूषको जस्तो श्रृंगार गर्ने गर्दछन् भने शारीरिक रूपमा पुरूष भए महिला जस्तो व्यवहार गर्ने र महिलाको पहिरन लगाउने, महिलाको जस्तो श्रृंगार गर्ने गर्दछन्। यस्ता व्यक्ति आफ्नो यौनभन्दा विपरीत यौनिक हुन मन पराउँछन् र शल्यक्रिया गरी यौन परिवर्तन समेत गर्ने गर्छन्।
अन्तर-यौनिक (Inter-sexual) यस्तो व्यक्ति हो जसको जन्मिने बेलामै महिला र पुरूष भनेर यौन (वा लिङ्ग) छुट्याउन सकिँदैन र यस्तो व्यक्तिमा महिला र पुरूष दुवैको जैविक क्रोमोजोम (Biological Chromosome) हुन्छन्। यस्तो व्यक्तिमा XXY अथवा XYY Chromosome भएको पाइन्छ। उदाहरणकालागि मानिस जन्मदाखेरी पुरूष र महिला दुवैको जननेन्द्रिय अर्थात लिङ्ग, अण्डकोष, योनि र पाठेघर सहित जन्मेको हुन सक्छन्। यस्ता व्यक्ति जन्मदा नै यौन अङ्गको हिसाबले सामाजिक अपेक्षा अनुरूप बालक वा बालिका भनेर छुट्टिदैनन्।
क्वियर (Queer) एक विशेष यौनिक समुदायको वर्णन गर्न प्रयोग गरिने शब्द हो। यो समाजले तोकेको पुरुषरमहिला र पुरुषरस्त्री भिन्नता भन्दा बाहिरका मानिसहरू मिलेर बनेको समुदाय हो। यिनीहरूको यौनिक पहिचान र यिनीहरूले यौनलाई मूर्त रूप दिने र प्रदर्शन गर्ने तरिका यौनको निश्चित जैविक धारणा वा यौनको सामाजिक धारणासँग मेल खाँदैन। यो शब्द क्वियर समुदायको राजनीतिक एजेन्डा पनि होस यिनीहरू विपरीत यौनवादी (heterosexist) मूलधारको समाजद्वारा स्वीकार गरिनका लागि लड्न वा भिन्नतावादी संस्कृति (heteronormative culture) मा आत्मसात (assimilation) हुनबाट प्रतिरोध गर्दछन्। लैङ्गिकता र यौनिकताबारे भिन्न सोच हुनेहरु अर्थात् नारी वा पुरूष भनेर परिभाषित हुन नचाहनेहरूले रचेको तेस्रो स्पेस हो – क्वियर। “क्वियर” शब्द समयौनिकतालाई घृणा गर्ने र त्यससँग डराउनेहरुले प्रयोग गरेको शब्द पनि हो, तर पछि यही शब्दलाई यो अभियानमा लाग्नेहरूले गर्व (प्राइड) का रूपमा लिएर चुनौती दिन थाले।
अयौनिक (Asexual) यस्ता व्यक्ति हुन् जो कुनै पनि यौनप्रति कामुक रूपमा आकर्षित हुँदैनन् वा यौन सम्बन्ध राख्न ईच्छुक हुँदैनन्। यस्ता व्यक्ति रोमान्टिक सम्बन्ध बनाउन पनि सक्छन् तर वास्तविक यौन सम्बन्धमा रूचि हुँदैन।
यौनिक अल्पसंख्यक सम्बन्धी कानूनी प्रावधान
यौनिक अल्पसङ्ख्यकलाई भेदभाव र अपमानको शिकार हुनु परेको पाईन्छ। वास्तवमा यौनिक अल्पसङ्ख्यकलाई भेदभाव र हिंसा गर्नु नेपालको संविधान विरोधी कार्य हो। वि। सं। २०६४, पुष ६ गते सर्वोच्च अदालतले विभेदकारी कानून खारेज गरी यौनिक अल्पसङ्ख्यकलाई अन्य नागरिक सरह अधिकार दिन सरकारलाई निर्देशन दिँदै फैसला गरेको थियो। नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले यौनिक अल्पसङ्ख्यकलाई विभिन्न अधिकार प्रदान गरेको छ र उनीहरूको हक सुनिश्चित गरेको छ।
धारा १२- वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता :
यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।
धारा १८- समानताको हक :
(१) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित गरिने छैन।
(२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन।
(३) राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन। तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ।
(४) समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।
(५) पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ ।
धारा ४२- सामाजिक न्यायको हक : 
(१) सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खसआर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ ।
निश्कर्ष
यौनिक पहिचान भनेको कसैले कुन लिंग वा यौनका रूपमा आफ्नो पहिचान बताउँछ भन्ने कुरा हो। यसले व्यक्तिको पुरूष, महिला वा यौनिक अल्पसंख्यकका रूपमा उसको आफ्नै भावनालाई बुझाउँछ। यौनिक अभिमुखीकरण भनेको कुनै पनि व्यक्तिको शारीरिक तथा भावनात्मक आकर्षणको दिशाबोध हो जो विपरीत यौनप्रति, वा समान यौनप्रति, वा दुवै यौनप्रति हुन सक्दछ, वा कुनै यौनप्रति पनि नहुन सक्दछ। नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले यौनिक अल्पसङ्ख्यकको हक सुनिश्चित गरेको छ। मानव समाजमा बहुल र अल्पसंख्यक सबैको यौनिकतालाई सम्मान गर्दै, सबै फरक मतलाई समेत न्यायोचित तवरले सम्बोधन गर्दै स्वस्थ र सम्मानजनक जीवनयापन गर्ने वातावरण बनाउनु पर्दछ।

तपाईको बिचार