भक्तपुर, १२ असोज । भनिन्छ, काम र सेवामा सानो ठूलो हुँदैन । देख्दा सानो देखिएता पनि त्यसको सकारात्मक प्रभाव दिर्घकालिन तथा उत्कष्ट हुन सक्छन् । जसको ज्वलन्त उदाहरणको रुपमा नेप्सेम्याक सेवा प्रालि बनेको छ । देख्दा सानो तर दिर्घकालिन तवरले स्थानीय तहको क्षेत्राधिकार भित्रको उत्कृष्ट कार्य गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २ मा नेप्सेम्याक र नगरपालिकाको संयुक्त आयोजनामा आज १७ वटा टोलसुधार समितिका एक हजार घरपरिवारलाई कम्पोष्ट मल प्रतिनिधिमुलक रुपमा वितरण गरिएको छ । अन्य परिवारलाई नेप्सेम्याकले आफ्नो नियम अनुसार कार्यालयमा नै उपस्थिती भई मल लिन आग्रह गरेको छ । आफ्नो घरबाट निस्कने फोहोरलाई वर्गिकरण गर्ने एक हजार घरपरिवारलाई कम्पोष्ट मल वितरण गरेको हो । उक्त कम्पोष्ट मल कहिँ कतैबाट खरिद गरेर ल्याएको नभई हाम्रो घरपरिवारबाट निस्किएको कुहिने फोहोरलाई वर्गिकरण गरी कम्पोष्ट मल बनाइएको हो । नेप्सेम्याकले आफ्ना ग्राहकलाई फोहोर वर्गिकरण गरेवापत वार्षिक रुपमा पाँच केजी मल प्रोत्साहन स्वरुप निशुल्क वितरण गर्दै आएको छ ।
उक्त कार्यले देख्दा सानो काम देखिएता पनि राज्यको ठूलो रकम बच्ने देखिन्छ । राज्यले तथा स्थानीय तहले फोहोर व्यवस्थापनमा अरवौं रकम खर्च गर्छ तर नतिजा सोचेजस्तो उत्कृष्ट बन्न सकेको छैन । तर नेप्सेम्याकले राज्यको ठूलो रकम नै बचाउने गरी नविनतम् प्रविधिको प्रयोग गरी फोहोरलाई मोहर बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ । नेप्सेम्याकले फोहोरको वर्गिकरण र कम्पोष्ट मल उत्पादन गरी कृषि उत्पादनमा प्रयोग गर्ने मात्र नभई कौसीखेतीको समेत तालिम दिई सहरी क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आर्थिक उपार्जनमा समेत जोड्दै आइरहेको छ ।
‘नेप्सेम्याकले समाजको अवस्था परिवर्तन गर्ने अभियान चलाएको छ’, भक्तपुर शाखा प्रवन्धक बाबुराम चौलागाईले भन्नुभयो, ‘स्थानीय तहको नीति अनुसार घरको फोहोर घरमा नै प्रयोग गर्ने कार्यक्रम व्यापक रुपमा जनस्तरमा ल्याइरहेका छौं । आगामी दिनमा जिरो वेस्टमा फोहोर वर्गिकरण र व्यवस्थापनलाई ध्यान दिँदै अगाडी बढेका छौं । जसको लागि स्थानीय तहको साथ र सहयोग अपरिहार्य हुन्छ ।’
नेप्सेम्याकले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यहरु समेत काठमाडौँ उपत्यकासहित काभ्रेका विभिन्न ठाउँहरुमा गर्दै आएको छ । सरसफाई गर्दै वातावरण प्रदुषणको न्युनिकरण गर्नु, सभ्य नागरिक, सफा सहर र स्वस्थ समाज निर्माण गर्नु नै नेप्सेम्याकको मुख्य लक्ष्य हो । नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल भन्नुभयो, ‘फोहोरमैला सफाईको अभियानलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । सामाज रुपान्तरण र फोहोर व्यवस्थापन गर्न अवस्था र परिस्थिती हेरेर कदम चाल्नुपर्छ । चाँगुनारायण नगरपालिकाबाट मात्रै दैनिक ५० टनभन्दा बढी फोहोर निस्कन्छ । त्यसको व्यवस्था गर्ने ठाउँ छैन । त्यसैले फोहोर व्यवस्थापन गर्ने जग्गाको व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ, पूर्वाधारको निर्माण गर्नुपर्छ । जसले गर्दा दिर्घकालिन रुपमा कुनै पनि समस्या नआउने अवस्था बन्छ । एक स्थानीय तहको फोहोर अर्को स्थानीय तहमा लगेर विस्थापन गर्ने सोचाईलाई त्याग्नुपर्छ ।’
नगरप्रमुख जीवन खत्रीले आफ्नो नीति भनेको बोलेर भन्दा पनि काम नतिजामा गरेर देखाउने भएकाले नेप्सेम्याकले फोहोर व्यवस्थापन गर्न चालेको कदमलाई साथ र सहयोग देखिने गरी गर्ने प्रतिवद्धता जनाउनुभयो । जनता जागरुक बनाउन जरुरी रहेको औंल्याउँदै उहाँले आफुले आफ्नो जिम्मेवारी पुरा गरेमात्र स्वच्छ वातावरण निर्माण गर्न सकिने बताउनुभयो । नयाँ सहर बनाउँदा आउन सक्ने समस्यालाई समयमा नै ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उहाँले हामीले गरेको फोहोरले अरुलाई असर गर्नु नहुने तर्फ सचेत गराउनुभयो ।
वडाध्यक्ष सोमप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठले आम नागरिकले मनमुटुबाट नै घरघरबाट नै सरसफाई अभियान चलाउनुपर्ने धारणा राख्नुभयो । फोहोरमा राजनीति गर्नु नहुने उल्लेख गर्दै उहाँले फोहोरको समस्या निकाल्न सक्नेले समाधान पनि दिनुपर्नेमा जोड दिनुभयो । फोहोर व्यवस्थापनमा नगरपालिकाले सहजिकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजको समस्या समाधानमा सवै मिल्नुको कुनै विकल्प नभएको बताउनुभयो । नगरपालिकाका वास प्रमुख सुरेन्द्र लामिछानेले कार्यक्रम सञ्चालन गर्दै नगरपालिकाले फोहोर व्यवस्थापनमा खेलेको भूमिका, आगामी लक्ष्य तथा दिर्घकालिन समस्या समाधानमा खेल्ने रणनीति र सहकार्यको बारेमा प्रष्ट पार्नुभयो ।
तपाईको बिचार