ताप्लेजुङ- काठमाडौँ उडान पुनः सुरु

ताप्लेजुङ- काठमाडौँ उडान पुनः सुरु

722

ताप्लेजुङ, १८ भदौ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ–सुकेटार उडान सुरु गरेको छ ।

खराब मौसमलगायत कारण गएको जेठ २४ गतेदेखि काठमाडौँ–सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु गरिएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् । एक यात्री काठमाडौँ गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए ।

करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडादर समेत घटाइएको छ । काठमाडौँ–ताप्लेजुङको भाडा यसअघि नौ हजार ६५३ रुपैयाँ थियो । हाल घटाएर आठ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ताप्लेजुङ– काठमाडौँको भाडा यसअघि नौ हजार ४५३ रुपैयाँ थियो । यसलाई घटाएर आठ हजार ४०० रुपैयाँमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमित रूपमा उडान हुने विमानस्थलको विश्वास छ । पर्यटनको सिजन लागेकाले यात्रीको अभाव नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ । रासस

तपाईको बिचार

सम्बन्धित खबर