काठमाडौँ, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पदमा रहँदा गरेका कुनै पनि काम कारबाही कानुनविपरित नभएको दाबी गरेका छन् ।
आज भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कानुनले केपी ओलीलाई हतकडी लगाउने कुनै ठाउँ राखेको छैन, राख्दै राख्दैन ।’ । ‘मलाई थाहा छ विरोधीहरू छन् । तिनले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । म सतर्क छु कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर । म प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्री हुँदाका मेरा काम कारबाहीहरू कानुन पल्टाइपल्टाई फैसला र निर्णय गर्ने गरेको छु’ ‘त्यसकारण यिनीहरूका इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन् । माकुराको जालोमा भैँसी पर्दैन ।’
अध्यक्ष ओलीले ठुलठुला भ्रष्टाचारका काण्ड ओझेलमा पार्न एमाले र आफूतिर दोष लगाउने गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । केही दिनअघि एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुन तस्करीमा संलग्न रहेको भन्दै एक वर्षभित्र पक्राउ पर्ने दावी गरेका थिए । ओलीले चौधरीको नाम नलिई उनैप्रति सङ्केत गर्दै आफूले कुनै पनि निर्णय कानुनविपरित नगरेकाले नफस्ने बताएका हुन् ।
ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्’ ‘पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’ उनले जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै भने, ‘उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।’
उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको बताए । ‘साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । ‘अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ’, ओलीले भने, ‘कसैले कानुनको राज नगरेर बलजफती जनता दबाएर अन्यायको राज लाद्न खोज्छ भने त्यतिबेला हामीले प्रतिवाद गर्नुपर्छ ।’
राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने ओलीको भनाइ छ । ‘हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौ’, उनले भने, ‘विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौम सत्ता जोगाउन सक्दैनौ भने जागिरे बहादुरी के काम लाग्छ ?’
तपाईको बिचार