कञ्चनपुर, २६ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता उत्पादन गर्ने कारखाना भएको दावी गर्नुभएको छ ।
‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ आज राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शुभकामना राख्दै युवा संघका नेता पार्टी निर्माणको नेतृत्वकर्ताको जग तयार गर्दै जनप्रतिनिधि हुँदै देशको नेता बन्ने बताउनुभयो । संघ एउटा विश्वविद्यालय रहेको उल्लेख गर्दै उहाँले संघका युवाहरुले आफ्नो धेरै क्षमता विकास गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो । नेपालको कम्युनिष्ट आन्दोलनको सवैभन्दा महत्वपूर्ण जग हो, जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने सशक्त संगठन हो, समृद्ध नेपाल सुखी नेपालीको महत्वपूर्ण नेतृत्व गर्ने संगठन हो राष्ट्रिय युवा संघ नेपाल ।’
संघमा भएको आन्तरिक स्वच्छ अन्तरविरोधलाई सकारात्मक ढंगले समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले योग्यता, क्षमता, लगनशिलता र दक्षताको आधारमा जनप्रतिनिधि तथा देशको प्रतिनिधि हुने कि नहुने भन्ने संघका कार्यकर्ताको गतिविधिबाट निर्धारण हुने स्पष्ट पार्नुभयो । युवाको सरोकार, शिक्षा, स्वास्थ्य र रोजगार संघको कार्यभार रहेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेले समाज परिवर्तनमा अभियान, नवयुवाहरुको परिचानल संघको चार महिने अभियानको मुख्य नारा भएकाले सोही अनुसार अगाडी बढ्न निर्देशन समेत दिनुभयो ।
सूचनाको प्रविधिबाट एमालेको नीति, सिद्धान्त, माक्र्सवाद, लेनिनवाद, समाजवाद, साम्यवादलगायतका कम्युनिष्टलाई अपरिहार्य सैद्धान्तिक ज्ञान लिई असल विश्लेषक, सिद्धान्तकार, प्रशिक्षक, वौद्धिक व्यक्तिको रुपमा हुनुपर्ने उहाँले जोड दिनुभयो । लोकतन्त्र बचाउन कांग्रेसलाई आग्रह गरे पनि प्रचण्ड र माधव नेपालको पछि लागेर मुलुकमा आर्थिक संकट, भ्रष्टाचार, अनियमितता, हत्या हिंसालगायतका असंख्य नकारात्मक कार्यहरु भइरहेको भन्दै संघका नेता तथा कार्यकर्ताले प्रविधिको प्रयोग गरी सत्यतथ्य सार्वजनिक गरी जनताको माझमा पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोलिटव्युरो सदस्य तथा संघको पूर्वअध्यक्ष निरुदेवी पाल, नारदमुनी राना, संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष महाराज गुरुङ, निर्वाचन आयोगका प्रमुख बलराम वेलवासेलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
तपाईको बिचार